काठमाडौं।
चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँ बरामद भएको छ।
उक्त रकमसहित नुवाकोट बिदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिकसहित ५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गरेको थियो।
सो क्रममा कारको डिक्कीमा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याइएको उक्त नगद फेला पारी चालक गुरुङ लगायत ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।