प्रज्ञा पुरस्कार-२०७८ बाट ६ जना सम्मानित !

काठमाडौं।

राष्ट्रपति विद्यादेवी भण्डारीले संगीत, नृत्य तथा नाट्य क्षेत्रका छ जना विशिष्ट व्यक्तित्वहरूलाई प्रज्ञा–पुरस्कार २०७८ बाट पुरस्कृत तथा सम्मानित गर्नु भएको छ ।

राष्ट्रपति निवासमा सोमबार आयोजित एक समारोहमा राष्ट्रपतिले रङ्गकर्मी ऋद्धिचरण श्रेष्ठ, शास्त्रीय सङ्गीतज्ञ मोहनप्रसाद जोशी, नृत्याङ्गना–नृत्य निर्देशक वीणा राजभण्डारी जोशी, नाट्यकर्मी मनबहादुर मुखिया, सङ्गीतकर्मी मोहन कृष्ण कार्की तथा लोक गायक अमर बिरही गुरुङलाई पुरस्कृत र सम्मानित गर्नु भएको हो ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना सिर्जना तथा साधनाको माध्यमबाट नेपालको सङ्गीत, नृत्यलगायतका प्रदर्शन कलाको बगैँचालाई सुसज्जित बनाउने व्यक्तित्वहरूका योगदानले नेपालको समग्र कला‚ साहित्य र संस्कृतिलाई नै उन्नत र समृद्ध बनाएको बताउनु भयो ।

राष्ट्रपति भण्डारीले नेपालको सङ्गीत तथा नाट्य क्षेत्रको विकासका लागि सम्मन्वयकारी एवं नेतृत्वदायी भूमिकामा रहेको प्रतिष्ठानका प्रस्तुतिमूलक र अनुसन्धानमूलक कार्यहरूले हाम्रो संस्कृतिको भण्डार थप समृद्ध बनिरहेको धारणा व्यक्त गर्नुभयो ।

समारोहमा राष्ट्रपति भण्डारीले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नेपालको मौलिक कलाको खोज र अनुसन्धान गर्ने दायित्व पाएको बताउनु भयो ।

उहाँले अन्तर्राष्ट्रिय जगतमा विकास भइरहेका नयाँ सङ्गीत र नाट्य शैलीको अध्ययन गरी नेपाली कला क्षेत्रलाई सोही अनुरूप आधुनिक विश्वसामु पेश गर्नुपर्ने खाँचो रहेको औँल्याउनुभयो ।

प्रतिष्ठानले देशको सङ्गीत एवम् नाट्य क्षेत्रका विशिष्ट साधक तथा प्रतिभाहरूको योगदानबारे अध्ययन गरी पुरस्कृत र सम्मानित गर्ने परम्परा बसाल्नु सराहनीय कार्य रहेको पनि राष्ट्रपतिले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार