लन्डन।
नेपाली मुलका जगन्नाथ शर्मा बेलायतमा दोश्रोपटक मेयरमा निर्वाचित भएका छन्।
इंग्ल्यान्डको कोलबर्न टाउन काउन्सिलर शर्मा ५ मेको स्थानीय निर्वाचनबाट निर्वाचित काउन्लिरहरुको सोमबार सम्पन्न पहिलो बैठकबाट सर्वसम्मत मेयर निर्वाचित भएका हुन् । कोलबर्न टाउनमा ११ जना काउन्सिलरहरु रहेका छन्। शर्मा सन् २०१२ देखि नै काउन्सिलर छन् ।
कन्जरभेटिभ पार्टीका उनी उक्त काउन्सिलमा सन् २०१५ देखि २०१६ सम्म उपमेयर र सन् २०१९ देखि २०२० सम्म मेयर थिए ।
नर्थ योर्कसायर काउन्टी काउन्सिलर ग्रीन पार्टीका केभिन फोस्टरको प्रस्ताव र मेयर पदावधि सकिएर बाहिरिन लागेकी काउन्सिलर एन्जी डेलको समर्थनमा शर्मा मेयर चुनिएका हुन् ।
शर्मा बेलायती अर्थमन्त्री ऋषि सुनाकको निर्वाचन क्षेत्र रिचमण्डसायरमा कन्जरभेटिभ पार्टीको उपाध्यक्ष छन् । रोयल आर्मी मेडिकल कोर्पसमा रिजर्भड आर्मी अफिसर पर्वत बिहादी रानीपानीका शर्मा बेलायती रक्षा मन्त्रालयअन्तर्गत क्याट्रिक ग्यारिसनको डिपार्टमेन्ट प्रमुख सुपरिटेन्डेन्ट पनि हुन् ।
सन् २००१ मा बेलायत प्रवेश गरेका शर्मा सन् २००३ देखि बेलायती रक्षा मन्त्रालयको जागिरमा प्रवेश गरेका थिए । स्पोर्टस् मेडिसिनमा विद्यावारिधि गरेका शर्मा जनस्वास्थ्य तथा संक्रामक रोग विशेषज्ञ पनि हुन् । उनका स्वास्थ्यसम्बन्धी कैयौं जर्नल प्रकाशित छन् । रक्षा मन्त्रालय प्रवेश गर्नुअघि सन् २००१ देखि २००३ सम्म उनी नेशनल हेल्थ सर्भिस् (एनएचएस) मा पनि जागिरे थिए ।
शर्मा बेलायतभित्र तथा बाहिरी मुलुकमा आपतकालीन स्वास्थ्यसम्बन्धी सहायता तथा तालिम प्रदान गर्ने इमर्जेन्सी हयूमेनिटेरियन मेडिकल टिममा पनि सदस्य छन् ।