लन्डन।
बेलायतको रोयल बरोबाट पहिलो पटक नेपाली मूलका उम्मेदवार जीत रानाभाट काउन्सिलर पदमा निर्वाचित भएका छन् ।बिहीबार सम्पन्न बेलायतको स्थानीय निर्वाचनमा रोयल बरो अफ ग्रीनवीचको प्लमस्टिड एण्ड ग्लिन्डन वडामा लेबर पार्टीबाट उम्मेदवार रानाभाट विजयी भएका हुन् ।
उक्त वडामा तीन काउन्सिलरका लागि दश उम्मेदवारबीच भएको प्रतिस्पर्धामा रानाभाटसँगै अन्य दुई पनि लेबर पार्टीकै उम्मेदवार विजयी भएका छन् । मत परिणामअनुसार रानाभाटले २ हजार ३ सय १९ मत प्राप्त गरेका छन्। उनीसँगै विजयी हुने अन्य दुई लेबर उम्मेदवारले २४ सत बढी मत पाएका छन् । पराजित उम्मेदवारमध्ये एकबाहेक अरु कसैले पनि ५ सय मत कटाएका छैनन् ।
बेलायतमा पछिल्लो केही वर्षदेखि नै विभिन्न स्थानीय तहमा नेपाली मूलका उम्मेदवारहरु निर्वाचित हुँदै आएका छन् । तर लन्डनभित्रका प्रमुख चार रोयल बरोमा नेपाली मूलबाट निर्वाचित हुने रानाभाट नै पहिलो बनेका छन् ।
विगत ८ वर्षदेखि लेबर पार्टीमा सक्रिय रहेका रानाभाट पहिलोपटक काउन्सिलरमा चुनाव लडेका हुन् । उनले प्लमस्टिड क्षेत्रमा पार्टीको सचिवका रुपमा पनि जिम्मेवारी सम्हाल्दै आएका छन् । नेपाली समुदायमा समेत सामाजिक कार्यमा क्रियाशिल रानाभाट रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटीका वर्तमान अध्यक्ष तथा एनआरएनए यूकेका पूर्वसचिव हुन् ।