नेपालको राजनीतिमा भ्रष्टाचार सामान्य जस्तै भएको छ : लिङ्देन

वीरगञ्ज ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले नेपालको राजनीतिमा भ्रष्टाचार सामान्य जस्तो भएको टिप्पणी गरेका छन् । मंगलबार वीरगञ्जमा राप्रपाले आयोजना गरेको चुनावी सभामा बोल्दै अध्यक्ष लिङ्देनले माथिदेखि तलसम्म भ्रष्टाचारले जरा गाडेको बताएका हुन् ।

अध्यक्ष लिङ्देनले भनेका छन्, ‘कर तिर्नपनि घुस खुवाउनुपर्छ । कसैले घुस खायो रे ! कसैले खुवाएर काम लियो रे ! भन्दा तपाईंलाई अचम्म लाग्दैन । किन कि यो त चलन नै भइसकेछ ।’ त्यस्तै उनले अहिलेसम्म शासनसत्ता काँग्रेस र कम्युनिष्टहरुले चलाएकै कारण मुलुकको दूर्गती भएको उल्लेख गर्दै आसन्न निर्वाचनमा ख्याल राखेर मात्र मत दिन आग्रहसमेत गरेका छन् ।

यसका साथै अध्यक्ष लिङ्देनले चुनावमा जनताले राम्रो दल र असल नेता नचुनेसम्म देश र जनता दुवैले दुःख पाइरहने पनि बताएका छन् । उनले भनेका छन्, ‘जबसम्म जनताले राम्रो पार्टी र असल नेता चुन्दैनन्, तबसम्म देशमा बेरोजगारी, गरिबी र अभावबाट जनताले मुक्ती पाउन सक्दैनन् ।’

उनले थपे, ‘तपाईले छोरी दिदाँ हजार पटक सोचेर दिनुहुन्छ । तरपनि कहिले काँही लफङ्गा ज्वाँइ परेर दुःख पाइन्छ तर, तपाईंले दिने एउटा मत गलत नेता वा पार्टीमा परेछ भने पूरै समाज र देशले दुःख पाउँछ । आज त्यहि कुरा भइरहेको छ । त्यसैले बैशाख ३० मा जनताका लागि सुअवसर आइरहेकाले राम्रा दल र असल उम्मेदवारलाई मत दिएर यो अवसर सदुपयोग गरौं ।’

मुलुकलाई थप असफल राष्ट्र बन्नबाट जोगाउनकमा लागि कांग्रेस, एमाले, माओवादी र मधेसवादीको विकल्प खोज्न जरुरी रहेको उनको भनाइ छ । उक्त विकल्प राप्रपा भएको जिकिर गर्दै उनले अबपनि उही पार्टीहरुबाट देश बन्छ, भनेर उक्त पार्टीहरुलाई मतदान गर्नु भनेको आफ्नो भावि सन्तति र देशको भविष्यसमेत विगार्नु रहेको बताए ।

उनले राप्रपाको मुख्य एजेण्डानै हरेक पालिकामा एउटा तालिम केन्द्र बनाएर सीपमुलक तालिमको व्यवस्था मिलाउने, सस्तो व्याजदरमा ऋण उपलब्ध बनाउने, कृषकले पाउने अनुदान सिधै किसानको खातामा पुग्ने बनाउने, सिंचाई, मल बिउ, कृषको उत्पादनको बजार र भण्डारणको व्यवस्था मिलाउनेलगायत रहेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार