लिस्बन।
पोर्चुगलमा साइकल चलाउनेहरुले प्रतिमहिना थप २८ युरो कमाउन सक्नेछन्। पोर्तुगाली सरकारले वातावरण मैत्री यातायातको माध्यमलाई बढावा दिन उक्त योजना ल्याएको हो। यो योजना हाललाई ब्रागामा मात्रै लागु हुनेछ।
युरोपेली परियोजना “बिसिफिकेशन – द फ्युचर अन टु ह्वील” अन्तरगत ब्रागा सहरमा कभर गरिएको दूरीको लागि ५०० साइकल प्रयोगकर्ताहरूलाई बोनस प्रदान गरिनेछ।
“तपाईं जति धेरै साइकल चलाउनुहुन्छ, त्यति नै तपाईंले सङ्कलन गर्नुहुन्छ” परियोजनाको सन्देश नै यहि हो र यसरि प्रत्येक साइकल प्रयोगकर्ताले प्रति महिना अधिकतम २८ युरोसम्म कमाउन सक्नेछन् ।
ब्रागाका मेयर रिकार्डो रियोले भने , ” यो परियोजनाले शहरमा गतिशीलताको संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्य राखेको छ। यसले विभिन्न प्रकारका यातायातका साधनहरूको सहअस्तित्व समेत सुनिश्चित गर्नेछ। ”
मेयर रिकार्डोले अगाडी भने , “यो कार कल्चरलाई दुरुत्साहित गर्दै थप वातावरणमैत्री यातायातको साधनहरुलाई प्रवर्द्धन गर्ने अर्को प्रोत्साहनको उपाय हो। ”
जीपीएस प्रणाली र सम्बद्ध एप्लिकेसनको माध्यमबाट साइकलबाट गरिने यात्राको अनुगमन गर्न सकिने र यसले आर्थिक प्रोत्साहनमा वृद्धि गर्नेछ ।
यो निगरानी केन्द्रीकृत डाटा प्लेटफर्ममा गरिनेछ ।
परियोजनामा सामेल हुन, तपाईंले ब्रागामा बसोबास गर्न काम गर्न आवश्यक छ। यो स्किममा सहभागी हुन कम्तिमा १५ बर्षभन्दा माथिको हुनुपर्नेछ भने साइकल र स्मार्टफोनको प्रयोग गरेर सहभागी हुन सकिनेछ ।
आवेदन मे ३१ सम्म https://bit.ly/utilizadoresbicificationbraga मा गरिसक्नुपर्नेछ।
ब्रागा सहर बाहेक युरोपेली युनियनले यो परियोजना टर्कीको इस्तानबुल र एस्टोनियाको टालिन शहरमा समेत लागु गरेको छ।