काठमाडौं ।
चर्चित हिमाल आरोही लाक्पा शेर्पाले १०औं पटक सगरमाथाको आरोहण गर्नुहुने भएको छ ।
सोमबार काठमाडौंमा नेपाल पर्वतारोही संघले नेपालको झण्डा हस्तान्तरण गर्दै उहाँलाई सगरमाथा आरोहणका लागि विदाइ गरेको हो ।
कार्यक्रममा आरोही लाक्पाले अबको सगरमाथा आरोहणले नेपाली महिलाहरू कुनै पनि कामका लागि पछि हट्दैनन् र जुनकुनै पनि काम गर्न सक्छन् भन्ने प्रेरणा दिने बताउनुभयो ।
उहाँले हिमालमा रहेको फोहोरहरू कम गरी स्वच्छ हिमाल बनाउने काममा आरोहीहरूले पनि भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
लाक्पा १५ जना अमेरिकी आरोहीसहित ३९ जनाको टोली लिएर गाइडको भूमिकामा सगरमाथा जाँदै हुनुहुन्छ ।
संखुवासभाको मकालुकी लाक्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण सन् २००० मा गर्नुभएको थियो । लाक्पा सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने महिला समेत हुनुहुन्छ ।