नवलपरासीमा टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ

रबिन्द्र यादव / नवलपरासी पश्चिम।

नवलपरासी पश्चिम जिल्लामा टाइफाइड रोगविरुद्धको खोप अभियान मंगलबारदेखि शुभारम्भ भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका-९ स्थित त्रिभुवन नमुना मावि बेलाटारीको खोप केन्द्रमा एक कार्यक्रमका बिच जनस्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले शुभारम्भ गर्नुभएको हो ।

टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय परासीका प्रमुख ओमप्रकाश पन्थी, विद्यालय प्रअ नारद ठाकुर , स्वास्थ्य कार्यालयका कोल्ड चैन निरिक्षक त्रिलोकी सिंह , लेखा अधिकृत नारायण भट्टराई , प्रतापपुर स्वास्थ्य शाखा हे.अ विनोद कुमार कोहार , प्रतापपुर स्वास्थ्य चौकी इन्चार्ज गीता अर्याल र स्वास्थ्यकर्मी लगायतका उपस्थिति थियोे ।

प्रतापपुर गाउँपालिकामा ४० वटा खोप केन्द्रबाट विद्यालय भित्र र विद्यालय बाहिरका करिब १६ हजार ४ सय ४ बालबालिकालाई उक्त खोप दिइने प्रतापपुर गाउँपालिका स्वास्थ्य शाखाले बताएको छ ।

प्रतापपुर गाउँपालिकाले लक्षित उमेर समुहका कुनै पनि बालबालिका टाइफाइड रोगविरुद्धको खोप लिनबाट नछुट्टुन भनेर प्रचारप्रसारमा तिब्रता दिएको छ । पालिकाले रेडियो पत्रपत्रिका , सरोकारवालासंगको अन्तरक्रिया र माइकीङ्ग गरि प्रचारप्रसार गरिरहेको छ ।

चैत २२ गतेदेखि देशैभर सुरु भएको टाइफाइड रोगविरुद्धको खोप अभियान नवलपरासीमा पनि शुरुआत भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका ओमप्रकाश पन्थीका अनुसार नवलपरासी पश्चिमका सबै सात वटै पालिकाका १५ महिनादेखि माथि र १५ वर्ष मुनिका ८६ हजार जना बालबालिकालाई टाइफाइड विरुद्धको टीसिभी खोप लगाइने भएको जानकारी दिए ।

जिल्लाको ३ सय २२ खोप केन्द्र स्थापना गरि तोकिएको लक्षित उमेर समुहका सबै बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप दिने उनको भनाइ छ । भौतिक उपस्थिति अनुसार विद्यालयले तथ्यांक नदिएकाले जिल्लामा लक्षित समुहका बालबालिकाको संख्या बढ्न सक्ने संभावना देखिन्छ । टाइफाइड रोगविरुद्धको अभियान दक्षिण एसियामा पहिलोपटक संचालन गरिएको हो ।

टाइफाइड रोगको संक्रमण जुनसुकै उमेरका व्यक्तिहरुमा हुने सर्ने भएपनि १५ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुमा संक्रमण दर बढ्ने र यो रोगको जटिलता उच्च देखिएकोले लक्षित उमेर समुहलाई प्राथमिकतामा सरकारले राखेको हो । टाइफाइड रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा दुषित खाना र पानीले सर्ने गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । यो अभियान सफल बनाउन जनस्वास्थ्य कार्यालय परासीले माइक्रो प्लानपरिगंङ, प्रत्येक संस्थाबाट खोप लगाउने स्वास्थ्यकर्मीलाई तालिम , संचारकर्मी तथा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भइसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार