रबिन्द्र यादव, नवलपरासी पश्चिम।
नवलपरासीमा चैत २२ देखि ३० गतेसम्म टाइफाइड रोगविरूद्धको खोप लगाइने भएको छ । जिल्लामा रहेकोे ७ स्थानीय तहमा उक्त खोप लगाइने स्वास्थ्य कार्यालय परासीले जनाएको छ ।
बहुवर्षीय खोप कार्ययोजनाको लक्ष्यअनुसार यही चैत २२ देखि ३० गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।
यहि चैत २२ गतेदेखि देशैभर सुरु हुन गइरहेको खोप अभियान कार्यक्रम अन्तर्गत जिल्लाका ८६ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय परासीका मलेरिया इन्सपेक्टर एवं कोभिड-१९ जिल्ला फोकल पर्सन देवि पौडेलले जानकारी दिए । टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई जिल्लाका सम्पूर्ण विद्यालय तथा स्वास्थ्य संस्थामा लगाउन लागिएको उनले बताए ।
केही विद्यालयमा बालबालिकाहरुको परीक्षा संचालन भएकोले केही पालिकामा अघिपछि मितिमा टाइफाइड रोगविरुद्धको खोप लगाइने उनको भनाइ छ । यो खोपको भायलमा भिभिएम रहेको तथा एक भायलमा पाँच मात्रा रहेको रंगविहीन तयारी झोलको रुपमा एक जनालाई शून्य दशमलव पाँच एमएलमा दिइने भएको छ । यो खोप १५ महिनादेखि २३ महिनाको बच्चालाई बाँया तिघ्राको बीच बाहिरी भाग र २ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई बाँया पाखुराको बीच बाहिरी भागमा लगाइने भएको हो ।
नवलपरासी पश्चिम जिल्लामा ८ दिनको अभियान संचालन गरेर खोप पुर्ण रुपले दिइसक्ने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई जिल्लाका सम्पूर्ण विद्यालय तथा स्वास्थ्य संस्थामा खोप केन्द्र स्थापना गरि खोप लगाइने स्वास्थ्य कार्यालय परासीले जनाएको छ ।
यसैगरी प्रतापपुर गाउँपालिकाको स्वास्थ्य शाखाले टाइफाइड रोगविरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवातका लागि पालिका स्तरिय खोप समन्वय समिति र सरोकारवालाहरुका लागि पालिका स्तरिय एकदिने अभिमुखिकरण तथा योजना गोष्ठी प्रतापपुर स्वास्थ्य चौकीमा सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रतापपुर गाउँपालिका कार्यवाहक अध्यक्ष अंजु कुमारी चौधरी , प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे लगााएत वडा अध्यक्ष हेमेन्द्र कुमार पंजियार, कादिर अलि अन्सारी, त्रिभुवन सिंह, जन्त्री चौरसिया, इश्वरी चौधरी, दिवाकर चौधरी, एवम् विद्यालयका प्रधानाध्यापक र स्वास्थ्यकर्मीहरु र पत्रकारकाे सहभागीता रहेको थियोे । प्रतापपुर गाउँपालिका भित्र रहेका उमेर समुहका सम्पुर्ण बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप दिइने गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।