विश्वकप क्रिकेट लिग–२ : पिएनजीमाथि नेपालको ७ विकेटको शानदार जित

काठमाडौं ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्यूगिनी (पिएनजी)माथि नेपालले ७ विकेटको जित निकालेको छ ।

पिएनजीले दिएको १ सय ७४ रनको लक्ष्य ३७ ‌ओभरमा ३ विकेट गुमाएर नेपालले भेट्टाएको हो ।

नेपालका लागि आरिफ शेखले अविजित ५९ रन बनाउँदा कुशल भुर्तेलले ५० रनको अर्धशतकीय पारी खेले । रोहित पौडेलले अविजित ४३ रन जाेड्दा आशिफ शेख २ र दिपेन्द्रसिंह ऐरी शून्य रनमा आउट भए ।

पिएनजीका चार्ल्स अमिनीले दुई तथा कबुआ मोरेले एक विकेट लिए ।

त्यसअघि युएईको दुबई रंगशालामा टस हारेर पहिला ब्याटिङमा तानिएको पिएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनायो ।

उसका लागि कप्तान असद भालाले सर्वाधिक ४५ रन बनाए । चाड सोपरले अविजित २२ रन बनाउँदा लेगा सियाका २०, सेसे बाउ १९, नरमान भानुआ १८, चार्लि अमिनी १३ रनमा आउट भए । काबुआ मोरिएले अविजित १७ रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई–दुई रन बनाउँदा पवन सर्राफ, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख र करण केसीले समान एक–एक विकेट लिए ।

जितसँगै नेपालले लिगअन्तर्गत १२ खेलमा ६ मा जित र ६ हारसहित १२ अंक बनाउँदै छैटौं स्थानमा छ भने पिएनजीले १६ खेलमा एक मात्र जितसहित अंकतालिकाको पुच्छार अर्थात् सातौं स्थामा छ ।

२८ खेलमा १७ मा जित र ९ मा हारसहित ओमान पहिलो स्थानमा हुँदा १८ खेलमा १० मा जित र ६ मा हार बेहोरेको युएई २२ अंकसहित दोस्रो स्थानमा छ ।

१२ खेलमा ७ जित र ३ हार खाएको स्कटल्याण्ड १६ अंकसहित तेस्रो स्थानमा रहँदा १४ खेलमा ७ मा जित र ७ मा हारको स्वाद चाखेको नामिबिया १४ अंकसहित चौथो स्थानमा छ ।

१६ खेलबाट समान १४ अंक जोडेको अमेरिका भने पाँचौं स्थानमा छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार