लन्डन ।
११ वर्षीय एक युक्रेनी बालकलाई युद्धबाट जोगाउन उनकै आमाले प्लास्टिक झोलामा उनका खेलौना राखेर अर्को देश पठाएकी छन् ।
बालकको हातमा आफन्तको सम्पर्क नम्बर लेखिएको छ । कहाँ जाने, के गर्ने अत्तोपत्तो छैन । रुन्छन्, कराउँछन्, भक्कानिन्छन्, बाटो विराउँछन्, भावुक बन्छन् अनि टोलाउँदै बाटो नाप्छन् ।
बाटोले जता डोर्याउँछ, उतै बहकिनु उनको नियति बनेको छ । युक्रेनका धेरै बालबालिकाले खेपेको अवस्था हो यो । खुकुरीको धारमा राखेर भए पनि अभिभावकले ज्यान जोगाउन अन्तिम उपायका रूपमा आफ्ना सन्ततिलाई अर्को मुलुकमा पठाउँदैछन् ।
निर्दोष ती बालक रुँदै ११ सय २५ किलाेमिटर टाढा स्लोभाकिया पुगेको दृश्यले सबको ध्यान केन्द्रित गरेको छ । बालबालिका मात्र हैन, लठ्ठीको सहारामा जीवन डोर्याइरहेका वृद्धवृद्धाको हालत थप कारुणिक बन्दै गएको छ । नागरिकका घर आगोको लप्काले खाएको छ ।
लाखौं युक्रेनी शरणार्थी भएर निर्जन मुलुकमा बाँडिएका छन् । एउटै परिवारका सदस्य को कहाँ छन्, पत्तो छैन । यद्यपि सत्ता र शक्तिको घमण्ड सेलाउने छाँटकाँट अझै देखिँदैन । बरु युद्धको भोक बालबालिका अस्पतालमाथि आक्रमण गर्ने तहसम्म पुगेको छ ।
कठै, कुनै स्वार्थ नजोडिएको यो समुदायलाई युद्धको तारो किन बनाइएको हो ? यो घाउको खाटा कहिले बस्ने हो ? प्रश्न थुप्रै छन्, उत्तर छैन । रुसी फौजको निरन्तर हमलाबीच मानवीय संकट झनझन् गहिरिँदै गएको छ ।
युक्रेनी नागरिकको हालत पनि अफगानिस्तानका जनताको जस्तै बन्न पुगेको छ । फरक यति हो कि युक्रेनी अभिभावकहरूलाई खानकै लागि सन्तान बेच्नुपरेको छैन । तर, आफना ज्यान जोगाउन सन्तानलाई छिमेकी देशमा शरण लिन पठाएको दृश्यले भने जो कोहीको मन कटक्क खान्छ ।
ओछ्यानमा थला परिसकेका वृद्धवृद्धा ज्यान घिसारेरै भए पनि ज्यान बचाउन लालायित देखिन्छन् । जताततै गोलाबारीको मुस्लो छ । ज्यान लिनेहरूको बिगबिगी छ तर मानवताको दीप बलेको कतै देखिन्न ।
आकाशभरि काल बनेर गोलचक्कर लगाइरहेका बायुयान र पृथ्वीमा उभिएर एकमुठी सासको भिख मागिरहेका नागरिकको पुकारबीचको समन्वय विन्दु अहिलेसम्म फेला परेको छैन ।