रबिन्द्र यादव / नवलपरासी पश्चिम|
जनता प्रगतिशील पार्टीका केन्द्रीय अध्यक्ष हृदयेश त्रिपाठीलाई गृहजिल्ला नवलपरासी पश्चिममा शनिवार स्वागत गरिएको छ ।
स्वतन्त्र राजनितीक समुहबाट जनता प्रगतिशील पार्टी आधिकारिक रुपमा नेपाल निर्वाचन आयोगमा दर्ता गराएर गृहजिल्लामा पहिलोपटक आएका उनलाई भव्य स्वागत गरिएको हो ।
जनता प्रगतिशील पार्टीका कार्यकर्ताहरुले बर्दघाट नगरपालिका वडा नं ४ टिसिएन चोक र क्षेत्रीय पार्टी कार्यालय बेलाटारीमा माला अबिर लगाएर स्वागत गरेका हुन ।
त्रिपाठी केही दिन गृहजिल्ला बसेर पार्टीको भातृ संगठन विस्तार, पार्टी प्रवेश कार्यक्रम र स्थानिय तहको निर्वाचन लगायतका विषयमा अन्य दलसँग छलफल गरिने स्रोतले बताएको छ । त्रिपाठी स्थानिय तहको निर्वाचन नजिकै गृह जिल्ला नवलपरासी पुगेकाले निकै महत्त्वपूर्णको रुपमा लिइएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार त्रिपाठी गृह जिल्ला नवलपरासी लगायत अन्य जिल्लामा पनि संगठन विस्तार तथा स्थानीय निर्वाचनमा तालमेल गर्न पुग्न सक्ने बुझिएको छ । साथै नेपाल सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचन तोकिएको अवस्थामा नेता कार्यकर्तामा विभिन्न पदमा उम्मेदवारीको होडबाजी चलिरहेको बेलामा त्रिपाठी गृह जिल्लामा पहिलोपटक आएकाले निकै महत्त्वपूर्णको रुपमा लिइएको छ ।