एजेन्सी ।
युक्रेनको रक्षा मन्त्रालयले रुसले आक्रमण गरेपछि भएको संघर्षका सुरुका चार दिनमा ५ हजार बढी रुसी सैनिकको मृत्यु भएको दाबी गरेको छ ।
फेसबुकमा प्रकाशित विज्ञप्तिमा युक्रेनमा झन्डै ५ हजार ३ सय सैनिकको ज्यान गएको तथा १ सय ९१ वटा रुसी ट्याङ्क, २९ वटा लडाकु विमान, २९ वटा हेलिकप्टर र सैनिकहरू बोक्ने ८ सय १६ वटा वाहन नष्ट पारिएको दाबी गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमले यसको स्वतन्त्र पुष्टि हुन नसकेको बताएका छन् । यद्यपि बेलायतको रक्षा मन्त्रालयका अनुसार द्वन्द्वको प्रारम्भिक चरणमा रुसतर्फ ठूलो सैन्य क्षति भएको छ ।
रुसी रक्षा मन्त्रालयले आफ्नो पक्षमा पनि क्षति भएको स्वीकारेको भोलिपल्ट युक्रेनले यस्तो दाबी गरेको हो । तर रुसले आफूतिर भएको मानवीय क्षतिको कुनै विवरण दिएको छैन ।
संयुक्त राष्ट्रसङ्घीय पर्यवेक्षकहरूले युक्रेनमा भएका संघर्षमा कम्तीमा ९४ जना गैरसैनिक नागरिकको मृत्यु भएको जनाएका छन् । राष्ट्रसंघकाअनुसार रुसी आक्रमणले युक्रेनमा गम्भीर मानवीय समस्या सिर्जना गरेको छ ।
उसले युद्धमा मर्ने मानिसको संख्या निकै धेरै भएको हुनसक्ने जनाएको छ । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी मामिला हेर्ने निकायले ४ लाख २२ हजार मानिसहरू युक्रेनबाट भागेर छिमेकी देशमा पुगेको जनाएको छ । यूएनएचसीआरका अनुसार रेल चढेर देश छोड्न खोज्ने मानिसलाई अवरोध गरिएको विवरण उसले प्राप्त गरेको छ र त्यसबारे अनुसन्धान भइरहेको छ ।
अहिलेसम्म एक लाखभन्दा बढी मानिसहरू देशभित्रै विस्थापित भएको यूएनएचसीआरले जनाएको छ । उता जापरोज्यास्थित आणविक ऊर्जा केन्द्र कब्जामा लिएको रुसको दाबीलाई युक्रेनी अधिकारीहरूले खण्डन गरेका छन् । उक्त आणविक ऊर्जा केन्द्र युरोपको सबैभन्दा ठूलो हो ।
यसैबीच युरोपेली संघ ईयूसँग आबद्ध राष्ट्रहरूले प्रतिबन्ध लगाइदिएकाले रुसी विमानहरु कालिनिन्ग्राडबाट आवतजावत गर्दा बाल्टिक सागरमाथिको लामो आकाशमार्ग प्रयोग गर्न बाध्य भएका छन् ।