काठमाडौं ।
विशेष अदालतले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्कालाई दोषी ठहर गरेको छ ।
नक्कली प्रमाणपत्र देखाएर जागिर खाएको आरोपमा दायर मुद्दामा उनी दोषी ठहर भएका हुन् ।
खड्काले प्रहरी सेवामा हुँदा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गएको माघ १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
नक्कली प्रमाणपत्र पेस गरी उनले २०५५ कात्तिक १ मा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्त भएको अख्तियारको दाबी थियो । खड्का राष्ट्रिय फुटबल टोलीबाट सबैभन्दा धेरै १३ गोल गर्ने खेलाडीमध्येका एक हुन् ।
खड्का र निराजन रायमाझीले समान १३ गोल गरेका छन् । खड्का अहिले अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला विभागका प्रमुखका रूपमा कार्यरत छन् ।
खड्काले नेपाल पुलिस क्लबबाट लामो समय फुटबल खेलेका थिए । दोषी खड्काँलाई दोषी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।