काठमाडौं |
निर्वाचन विज्ञ तथा कानूनविद्हरूले वैदेशिक रोजगारी तथा अन्य प्रयोजनका लागि विदेशमा रहेका नेपालीलाई आगामी निर्वाचनमा मताधिकार दिलाउन सकिने बताएका छन् ।
नेपाल पोलिसी ईन्स्टिट्युट ९एनपीआई०द्वारा आइतबार आयोजित नीति संवाद श्रृंखलामा उनीहरूले सर्वोच्च अदालतले २०७४ सालमा गरेको फैसलालाई कार्यान्वयन गराउँदै प्रविधिको प्रयोगबाट मताधिकारको व्यवस्था गर्न सकिने धारणा राखेका छन् ।
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भएपनि विदेशमा रहेका ४० लाख बढी नेपाली नागरिक मताधिकारबाट बञ्चित रहेका छन् । गैरआवासीय नेपाली संघलगायतका सामाजिक संघसंस्थाले निरन्तररूपमा विदेशमा रहेका नेपालीलाई मतदानको प्रवन्ध गर्न माग गरिरहेका छन् ।
विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिए योग्य जनप्रतिनिधि चुनिने र निर्वाचनका क्रममा हुने अनुचित चलखेल र दबाब, प्रभाव कम गर्न सहयोग पुग्ने पनि उनीहरूको भनाइ छ ।