लण्डन ।
आफ्ना महिना सहकर्मीमाथि यौन दुर्ब्यवहारको आरोप लागेको गोरखा सैनिकले सफाइ पाएका छन् ।
फष्ट बटालियन रोयल गोरखा राइफल्सका सैनिक सुजन गुरुङमाथि सहकर्मी महिला सैनिकले यौन दुर्ब्यवहारको आरोप लगाएकोमा बुलफोर्ड मिलिटरी कोर्टले शुक्रबार गुरुङलाई निर्दोष ठहर गरेको छ ।
तीन दिनको बहसपछि न्यायाधीश जेन इङल्याण्डले फैसला सुनाउँदै गुरुङ निर्दोष रहेको बताइन् । ‘सिपाहीँ गुरुङ, तिमी धेरै मातेका थियौ र तिमीले के गर्यौ थाहा पाएनौँ । म आशा गर्छु, यो तिम्रो लागि एउटा पाठ भयो । तिमी मातेर अरुको कोठामा खासगरी महिलाको कोठामा जान पाउँदैनौ’, न्यायाधीश इङ्ल्याण्डको भनाइ उद्धृत गर्दै डेली मेलले लेखेको छ ।
गुरुङमाथि उनका सहकर्मी महिलाले स्याण्डहर्स्ट सैनिक विद्यालयमा अँध्यारोमा चुम्बन गरेको, शरीरमा छोएको आरोप लगाएकी थिइन् । उनले यसअघि उनीसित यौन सम्बन्ध भएका अर्का गोरखा सैनिकको जस्तो अभिनय गरी गुरुङले फाइदा लिन खोजेको बताएकी थिइन् । सो घटना भएको भोलिपल्ट बिहान बियर पिएर उनी गोरखा सैनिकहरु बसेको कोठाकोठामा गई अघिल्लो रात आफ्नो कोठामा आउने को हो भन्दै खोजी गर्न पुगेकी थिइन् ।
गुरुङले भने त्यो दिन आफू मातेकोले केही सम्झन नसकेको दाबी गरेका थिए । उनले ती महिला सहकर्मीसित एउटै ओछ्यानमा बसेको र एक हातमा कफी लिएर हात हल्लाउँदै कुराकानी गरेको बताएका थिए ।’तिमीले ती महिला सहकर्मीलाई चुम्बन गर्यौ ? उनको शरीमा छोयौ’ भन्ने प्रश्नमा उनले चुम्बन गरेकी सम्झना नभएको र कुराकानीका क्रममा हात हल्लाउँदा उनको स्तनमा छोएको हुनसक्ने बताएका थिए ।
गुरुङका वकिलले महिला सैनिकले सो दिन पछिका आफ्ना कर्तुत ढाकछोप गर्न घटनालाई बढाइचढाइ गरेको जिकिर गरेका थिए ।
सन् २०१७ मा गोरखा सैन्यामा भर्ती भएका विवाहित गोरखा सैनिक गुरुङले अफगानिस्तानमा पनि सेवा गरिसकेका छन् । – वीनेपालीको सहयोगमा