कैलाली ।
बैतडी र दार्चुला जिल्लाका सबै सीमानाका आजबाट चार दिन बन्द भएका छन्। भारतको उत्तराखण्ड राज्यमा फेब्रअरी १४(फागुन २ गते) मा हुन गइरहेको विधान सभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका चार दिनका लागि बन्द हुने भएका हुन्।
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज बिहानदेखि फागुन ३ गतेसम्मका लागि बन्द भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। यस्तै दार्चुलाका भारतसँग सीमा जोडिएका सबै नाका पनि आजदेखि फागुन २ गतेसम्म बन्द भएको दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशको सहमतिको आधारमा नाका बन्द गरिएका हुन्। सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ।
सोही राज्यको विधान सभाको निर्वाचनलाई मध्यनजर गड्डाचौकी नाका पनि आजदेखि बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार आजदेखि फागुन २ गतेसम्मका सीमानाका बन्द गरिएको छ।