काठमाडौँ।
देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको हो । प्युठान, सुनसरी, सिरहा, रुपन्देही, स्याङजा र धादिङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको हो ।
प्युठानको गौमुखी गाउँपालिका-६ ओखरपाटा भन्ने स्थानमा विवाहको दुलही लिएर फर्कदै गरेको ग.१ ज ५०९२ नम्बरको जिप सडकबाट १ सय ५० मिटर तल खसेर गएराति दुर्घटना हुँदा जिपमा सवार ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा गौमुखी गाउँपालिका-६ लिवाङ बस्ने ३९ वर्षीय बसन्त खड्का, उनकै छोरी ११ वर्षीया एलिसा खड्का, ४० वर्षीया बसन्ती खड्का, २९ वर्षीया केसरी खड्का, जिपका चालक ५२ वर्षीय बल बहादुर बुढामगर, ३२ वर्षीय खिम बहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का र २२ वर्षीया बिपना जिसी रहेका छन् । दुर्घटनामा ६ जनाको घटनास्थलमै र २ जनाको जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ५ जनामध्ये २ जनाको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ भने ३ जनालाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ ।
यता सुनसरीको ईनरुवा नगरपालिका-४ स्थित सडकमा प्रदेश १-०२-००२ च ४७८३ नम्बरको पिकअप भ्यानको ठक्करबाट साईकलयात्री गढी गाउँपालिका-६ बस्ने ४० वर्षीया बासोदेबी उराउको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार भ्यानका चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सुनसरीकै भोक्राहा नरसिहं गाउँपालिका-३ खुनिया पुलस्थित सडकमा ना.८ ख ८४९३ नम्बरको बस र ना.२ ख २९९६ नम्बरको ट्रक शुक्रबार राति एकआपसमा ठक्कर खाई आगलागी समेत हुँदा ३ जनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बसका चालक झापा गोलधाप-१ घर भएका ४५ वर्षीय सरोज राई, बसमा सवार भारत पश्चिम बंगाल कालचोनी बस्ने २५ वर्षीय निहाल प्रधान र ट्रकका चालक बारा निजगढ नगरपालिका-९ घर भएका २७ वर्षीय शेख फिरोज रहेका छन् । साथै दुर्घटनामा घाइते भएका २७ जनाको सुनसरी र विराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै आवश्यक उद्दार कार्य गरेको थियो ।
त्यस्तै सिरहाको गोलबजार नगरपालिका-४ स्थित सडकमा ना.१ ज ५९१२ नम्बरको गाडीको ठक्करबाट मिर्चैया नगरपालिका-६ बस्ने ४५ वर्षीय ब्रह्मदेव ठाकुरको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि राउ अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-९ स्थित सडकमा लु.३७ प ६३५१ नम्बरको स्कुटर आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-१५ कोटिहवा बस्ने २४ वर्षीय सुशान्त बस्यालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।
स्याङजाको विरुवा गाउँपालिका-३ धोवादीस्थित भित्री सडकमा विरूवाबाट खालीतर्फ जाँदै गरेको ग.१ ज ५९३९ नम्बरको जिप सडकदेखि अन्दाजी ५ सय मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा जिपका चालक विरुवा गाउँपालिका-३ खाली बस्ने २६ वर्षीय बेल बहादुर थापा र जिपमा सवार सोही ठाउँ बस्ने ३२ वर्षीय भेष बहादुर थापा रहेका छन् ।
धादिङको धुनिबेशी नगरपालिका-१ बन्चरेस्थित सडकमा प्र.३-०१-००३ क ७२५५ नम्बरको जेसिबी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ४० मिटर तल खोल्सामा खसेर शनिबार दिउँसो दुर्घटना हुँदा जेसिबीमा सवार हाल नाम, थर, वतन नखुलेका १ जना पुरुषको घटनास्थल्मै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनालाई उपचारको लागि बीर अस्पताल काठमाडौं पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।