काठमाडौँ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मारवाडी सेवा समितिलाई आफ्नो पाँच महिनाको तलब दिने घोषणा गरेका छन् । शनिबार मारवाडी सेवा समिति नेपालले आफ्नो ६९ औँ स्थापना दिवसका अवसरमा पशुपति धर्मशाला गौशालामा आयोजना गरेको निःशूल्क कृत्रिम खुट्टा वितरण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री आलेले सो कुरा बताएका हुन् ।
मारवाडी सेवा समितिले नेपाली दुःखी, गरिब नागरिकको सेवामा अमूल्य सहयोग गर्दै आएको र उक्त सेवामा थप बिस्तार तथा सहयोग पुगोस् भन्नका लागि आफूले मन्त्रीका हैसियतले पाउने पाँच महिनाको तलब दिने बताए । उनले भने, “मारवाडी सेवा समितिले गर्दै आएको काम र सहयोग मलाई अति नै मनपरेको छ, उक्त सेवामा थप सहयोग पुगोस् भन्ने हेतुले म आफ्नो पाँच महिनाको तलब दिने छु, सोमबार सम्म उक्त रकमको चेक हस्तान्तरण गर्ने छु ।”
सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री आलेले राजनीति पेसा नभएर सेवा भएकाले आफू पनि जनताको सेवा गर्नका लागि राजनीतिमा प्रवेश गरेको र हामी शासक नभई सेवक भएको बताए । उक्त कार्यक्रममा विभिन्न दुर्घटनामा परि खुट्टा गुमाएका नागरिकहरूलाई निःशुल्क रूपमा कृत्रिम खुट्टा वितरण गरिएको पशुपति धर्मशाला गौशलाका अध्यक्ष चर्तुभुज सरियाले जानकारी दिए ।