लिस्बन।
पोर्चुगलमा कोरोना महामारी शुरु भएयताकै सबैभन्दा बढी संक्रमित आज थपिएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
उसका अनुसार आज मात्रै ३० हजार ८२९ जना संक्रमित थपिएका छन् भने कोरोनाकै कारण १८ जनाको ज्यान गएको छ। नयाँ संक्रमितको यो संख्या हालसम्मकै उच्च हो।
सक्रिय संक्रमितको संख्या बढेर १ लाख ७८ हजार ७१२ पुगेको छ।
सरकारले क्रिसमस देखि नयाँ बर्षसम्मको चाडपर्वको समयमा भिडभाड कम गर्न संक्रमण नियन्त्रण गर्न नियमहरुमा कडाई गरेको छ।
नयाँ बर्षमा सरकारले गरेको कडा नियमहरु यस्ता छन् :
– सडकमा १० जनाभन्दा बढि जम्मा हुन र मदिरा सेवन गर्न नपाइने
– रेस्टुरेन्ट, क्यासिनो र नयाँ वर्षको पूर्वसन्ध्या पार्टीहरूमा प्रवेश गर्न कोरोना परीक्षणको नेगेटिभ रिपोर्टलाई अनिवार्य
डायग्नोस्टिक परीक्षणहरू गर्न प्रोत्साहन गर्न, धेरै मानिसहरूसँग भेटघाट नगर्न, बन्द, साना र कम हावायुक्त ठाउँहरूमा र लामो समयसम्म मास्क बिना नबस्न सरकारले सबै नागरिकहरुलाई आग्रह गरेको छ ।
यस्तै सरकारले घोषणा गरेका उपायहरू बाहेक धेरै नगरपालिकाहरूले सार्वजनिक स्थानहरूमा नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित पार्टी तथा कार्यक्रमहरु रद्द गरिरहेको छ ।