काठमाण्डाै।
राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाले २६ औँ वार्षिकोत्सव मनाएको छ ।
कोषले आज बधुवार ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर सदर चिडियाखानाको २६ औँ वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितकलाले भरिएको ललितपुरमा नेपालको एक मात्रै चिडियाखाना हुनु ललितपुरको विशेषता भएको बताउनुभयो । उहाँले चिडियाखाना ललितपुर महानगरको एउटा विशेषता नै भएको बताउनुभयो ।
मेयर महर्जनले चिडियाखानाको थप व्यवस्थित रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले विकास गर्न सकिएन भने पनि जसरी चलेको छ त्यही रूपमा राख्न सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले चिडियाखाना मुख्य चार वटा उद्देश्यले सञ्चालन भइरहेको बताउनुभयो । उहाँले कोषले जङ्गली जनावरको विषयमा शिक्षा दिने काम गर्ने गरेको बताउनुभयो । कोषले जङ्गली जनावर तथा प्रकृति संरक्षणको विषय नेपालको १३ जिल्लामा पाठयपुस्तकमा समावेश गराएको बताउनुभयो ।
२६ औं वार्षिकोत्सवको अवसरमा कोषले चिडियाखानामा काम गर्ने उत्कृष्ट कर्मचारीलाई सम्मान तथा प्रमाणपत्र वितरणसमेत गरेको छ ।