प्रदीप रोदन/गोरखा
देखेर धर्तिको फुटेको पाउ
आकाशको अनुहारमा जन्मिन्छन् बादलहरु
बर्षौ पछि परदेशी छोरो फर्किँदा
रोएकी बुढी आमा जसरी
बढो प्रेमले रुन्छ आकाश,
आफ्नो पाउमा खसेको हरेक थोपा आँसुमा
धर्तीको मन पलाउँछ
र पलाउँछ हरियो जिन्दगी।
बगरको सुख्खा छाती देखेर
अनवरत सुसाउँछ नदी
सोच्छ म पुगुँ कहाँ पुगुँ गन्तव्य के हो?
सङ्लो भएर बगर चुम्न किन सक्दिन म?
यही सुर्ताले एकदिन यसरी भलाउँछ नदी
धमिलो भएर पनि भिजाएर छोड्छ बगर
छातीबाट निस्किन्छ मिलनको बाफ
र फेरि नदीकै प्रतिक्षामा सुकिजान्छ बगर।
आँखाको चिसो रुमाल सुकाउन
बहकिन्छ हावा
अगेनोको जाडो थेक्न
सल्किन्छ आगो
जुन लाई आराम गर्न पठाउँछ घाम
र आफू निस्किन्छ रातको शीत ओभाउन
प्रिय
देखेर पनि फुटेका तिम्रा पाउ
म कहिल्यै आकाश हुन सकिन
देखेर पनि तिम्रो सुख्खा छाती
मैले कहिल्यै भिजाउन सकिन
तिमीलाई कहिल्यै आराम दिन सकिन
ओभाउन सकिन तिम्रो हृदयको शीत
कहिल्यै आकाश हुन सकिन
नदी हुन सकिन
सुकाउन सकिन तिम्रो चिसो रुमाल
म हावा हुन सकिन
म घाम हुन सकिन
मलाई माफ गर प्रिय
म केही नभएर पनि
तिम्रो प्रेमी भैरहेँ।