लिस्बन।
कोभिड कानुनको उल्लङ्घन गर्दै पोर्चुगल प्रवेश गर्ने १ हजार ४०० यात्रुहरु सहित ३८ एयरलाइन्समाथि कारवाही भएको आन्तरिक प्रशासन मन्त्रालयले जनाएको छ।
पोर्चुगलमा कोरोना संक्रमितहरुको संख्यामा निरन्तर वृद्धि र ओमिक्रोन भाइरसको प्रभाव देखिएसंगै सरकारले अध्यागमन र पोर्चुगल भित्रिनेहरुका लागि कडा नियम लागु गरेको छ।
डिसेम्बर १ बाट लागु गरिएको परिवर्तित नियम उल्लङ्घन गर्ने एयरलाइन्सलाई प्रतियात्रु २० हजारका दरले २ करोड ८० लाख युरो र यात्रुलाई प्रतिव्यक्ति कम्तिमा ३०० का दरले १,४०० यात्रुको ४ लाख २० हजार युरो जरीवान हुने भएको छ। यद्यपी जरिवानाको यो आँकडा अझै माथि जानसक्नेछ।
डिसेम्बर १ बाट लागु गरिएको नयाँ कोभिड नियम अनुसार पोर्चुगल प्रवेश गर्ने हरेक व्यक्तिले कोभिड परिक्षणको नकारात्मक नतिजा पेश गर्नुपर्नेछ। त्यस्तै यात्रु ओसार्ने हरेक हवाई कम्पनीलाई कोभिड परिक्षणको नकारात्मक नतिजा बिना यात्रु ओसार्न बन्देज गरिएको छ। यो नियम उल्लङ्घन गर्ने व्यक्तिलाई कम्तिमा ३०० देखि ८०० युरो जरिवाना र कम्पनीको हकमा प्रत्येक यात्रुको कम्तिमा प्रतिव्यक्ति २०,००० युरो जरिवाना हुने प्रावधान छ।