वीरेन्द्रनगर।
जिल्ला अदालत सुर्खेतले बलात्कार पीडित युवतीको पहिचानसहित अनलाइनमा समाचार र फेसबुकमा स्टाटस लेख्ने एक पत्रकारलाई पाँच महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको छ।
अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले ‘राप्ती पहिचान डट कम’ अनर्लानका सञ्चालक दाङको तुलसीपुर उपमहानरपालिका–३ का एग्गेबहादुर बुढा मगरलाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको हो ।
बुढाले युवतीको पहिचान खुल्नेगरी तस्बिर र नामसहित समाचार प्रकाशन गरेका थिए । यस्तै पीडकको तर्फबाट बहस गरेका वकिलहरुविरुद्ध स्टाटससमेत लेखेका उनलाई अदालतले सजाय सुनाएको हो ।
संवेदनशील विषयमा समाचार सामग्रीहरु प्रकाशन/प्रसारण गर्दा पीडितको सुरक्षा तथा पहिचानको विषयमा गम्भीर नभएपछि बुढामगरलाई कैद र सजाय तोकिएको जिल्ला न्यायाधीश आचार्यको फैसलामा उल्लेख गरिएको छ ।
गुर्भाकोट नगरपालिका–९ स्थित आँपसोतीमा बसेका बेला एक युवतीमाथि बलात्कार भएको थियो । जेठ २१ गते दुई युवती सामान किन्न आएको बेला होटलमा जबरजस्ती मदिरा सेवन गराएर युवाहरुले बलात्कार गरेका थिए ।
युवतीमाथि जबरजस्ती गर्ने गुर्भाकोटका चमन घर्ती, भुपेन्द्र बुढा र विनोद पुनलाई यसअघिको फैसलाबाट कारागार चलान गरिएको छ ।