काठमाडौँ।
नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालालाई पराजित गर्दै १४औँ महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएका हुन् ।
कांग्रेसको १४औँ महाधिवेशनमा पाँच जनाले सभापतिमा उम्मेदवारी दिएका थिए । जसअनुसार सोमबार भएको पहिलो चरणको निर्वाचनमा कसैले पनि जितका लागि आवश्यक मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको थियो ।
दोस्रो चरणको मतदानका क्रममा देउवाले सभापतिका प्रत्यासीहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको समर्थन प्राप्त गरेका थिए । सोही समर्थनको बलमा उनी दोस्रो पटक कांग्रेस सभापतिमा निर्वाचित भएका हुन् । यसअघि १३औँ महाधिवेशनबाट देउवा पार्टी सभापतिमा निर्वाचित भएका थिए ।
अहिले जारी मतगणनामा मत गणना नसकिँदै देउवाले जितका लागि आवश्यक मत प्राप्त गरिसकेका छन् ।
देउवा सभापतिमा दोस्रो पटक निर्वाचित भए पनि उनलाई शेखर कोइरालाले कडा टक्कर दिएका थिए । कांग्रेसको यो महाधिवेशनमा कतिपय नेताहरूले कित्ता परिवर्तन पनि गरे । जसका कारण कांग्रेसकै नेताहरूले भन्दै आएको पुस्तान्तरण र रूपान्तरणको मुद्दा भने महाधिवेशनबाट अनुमोदन हुन सकेको देखिएन ।