काठमाडौं ।
कांग्रेस सभापतिका पाँचजना उमेदवारमध्ये कसैले पनि कुल खसेको मतको पचास प्रतिशतभन्दा बढी ल्याउन नसकेपछि पुनः निर्वाचनमा जाने भएको छ ।
पुनः निर्वाचनमा जाँदा धेरै मत प्राप्त गरेका दुईजनाबीच प्रतिष्पर्धा हुनेछ । जसमा सभापतिका उमेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिष्पर्धा हुनेछ ।
नेपाली कांग्रेसको विधानअनुसार खसेको कुल मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य भनेको छ ।
केन्द्रीय महाधिवेशनको काम, कर्तव्य र अधिकारमा भनिएको छ, “सभापतिमा निर्वाचित हुनका लागि खसेको मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलो पटक कुनै पनि उमेदवारले पचास प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाकाबीच पुनः मतदान गरिनेछ ।”
अब दुईजनाबीच हुने प्रतिष्पर्धामा बढी मत ल्याउने विजयी हुनेछन् ।