१७ करोड ऋणले थिचेपछि गौतमबुद्ध रंगशाला निर्माण ठप्प : सरकारलाई धुर्मुसले दिए यी तीन विकल्प !

काठमाडौं ।

धुर्मुससुन्तली फाउन्डेसनको सहजीकरणमा चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको १७ करोड ऋण र अगामी निर्माणको बारेमा सरकारसँग छलफल भएको छ ।

१७ करोड ऋण रहेको रंगशाला निर्माणका लागि विभिन्न कम्पनीसँग कुरा भइरहेको र सरकारसँग पनि छलफल जारी राखिएको सञ्चारकर्मी प्रेम बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारसँग मुख्यगरी तीनवटा विकल्पमा छलफल भएको हो ।

सरकारसँग भएको छलफलको पहिलो विकल्पमा तिर्न बाँकी १७ करोड रुपैयाँ ऋण मन्त्रिपरिषद्बाट निर्णय गरी छुट्याउने र पहिलो चरणमा निर्माण सम्पन्न गर्न आवश्यक ५० करोड फाउन्डेसनलाई उपलब्ध गराई काम अघि बढाउने र त्यसपछि सरकारलाई हस्तान्तरण गर्ने भनिएको छ ।

तिर्न बाँकी १७ करोड ऋण ब्यहोर्दै हालसम्मको लगानीको स्पष्ट हिसाबकिताबसहित सरकारले सम्पूर्ण रूपमा आफ्नो स्वामित्वमा लिने विषयमा पनि छलफल भएको सञ्चारकर्मी बानियाँले जानकारी दिनुभयो । यस्तै कम्पनी मोडलमा लगेर अघि बढ्ने विषयमा पनि छलफल भएको छ ।

योसँगै क्रिकेट रंगशालामा धुर्मुस–सुन्तली फाउन्डेशनको कस्तो अधिकार र स्वामित्व रहने तथा ती संसारभरका मानिस जस्ले आफ्नो पसिना काटेर सहयोग गरे तीबारे पनि छलफल चलिरहेको उहाँले बताउनुभयो ।

यस्तै, करिब २ करोड ऋण तिर्न बाँकी रहेको हामा स्टिलले अहिले नै नआत्तिन भनेकाले अलिकति राहत महसुस भएको कलाकार सिताराम कट्टेल अर्थात धुर्मुसले बताउनुभयो । साथै अन्य केही ऋण तिनुपर्ने कम्पनीहरूले पनि केही समयको लागि सान्तवना दिएको उहाँले जानकारी गराउनुभयो ।

धुर्मुससुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा करिक २ अर्बभन्दा बढी रकम जनस्तरबाट संकलन गरी अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणमा छन् । अहिले उनीहरुलाई १७ करोडभन्दा बढी ऋण लागेको छ भने रंगशाला निर्माणको काम पनि रोकिएको छ ।

रंगशालाको मैदानको काम ९० प्रतिशत सकिएको छ भने ३ हजार दर्शक अट्ने प्याराफिट बनिसकेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार