लिस्बन।
कोरोना परिक्षणको नेगेटिभ रिपोर्टबिना पोर्चुगल आउने २११ यात्रु सहित २३ एयरलाइन्सलाई जरिवाना गरिएको आन्तरिक प्रशासन मन्त्रालयले जनाएको छ।
पोर्चुगलमा कोरोना भाइरस संक्रमितहरुको संख्यामा निरन्तर ब्रिद्दि र ओमिक्रोन भेरीयन्टका संक्रमित फेला परेपछि सरकारले आगमनमा कडाइ गर्दै हवाई यात्राद्वारा पोर्चुगल प्रवेश गर्ने हरेक यात्रुहरुको लागि कोरोना परिक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरेको थियो। यो नियम १ डिसेम्बर बुधवारबाट लागु भयो।
बुधवार मात्रै कोरोना परीक्षकको नेगेटिभ रिपोर्ट नलिई पोर्चुगल प्रवेश गर्ने १५९ जना सहित तिनलाई बोक्ने १० हवाई कम्पनि कारवाहीमा परेका थिए। यो नियम लागु भएको दोश्रो दिन बिहिबार ५९ हवाई यात्रु सहित १३ बिमान कम्पनीहरु कारवाहीमा परे।
सुरक्षा अधिकारिहरुले कोरोना टेष्टको रिपोर्ट बिना यात्रु बोक्ने बिमान कम्पनीहरुलाई प्रतिव्यक्ति २० हजार युरो देखि ४० हजार युरोसम्म जरिवाना गरेका छन् भने प्रत्येक यात्रुहरुलाई कम्तिमा ३०० युरोदेखि ८०० युरो जरिवाना गरेका छन्।
यो नियम आन्तरिक घरेलु बिमान यात्रा, १२ बर्ष भन्दा मुनिका बालबालिका, क्याबिन कर्मचारी र ६ महिना भन्दा कम समय भएका कोभिड रिकभरी रिपोर्ट भएकाहरुका हकमा भने लागु हुनेछैन।