तनहुँ ।
तनहुँको व्यास नगरपालिका २ मा रहेको सत्यवती मा.वि.मा शनिबार संसदीय निर्वाचनको झल्को दिनेगरि अभिभावक मतदान गर्न आतुर थिए ।
हातमा रातो चिटसहित बोकेर भोट हाल्न युवादेखि वृद्धवृद्धा अभिभावकले विद्यालय व्यवस्थापन समिति पदाधिकारी छान्न मतदान गरे । विद्यालयको प्रांगणमा सदाझैं कापी, कलम बोकेका विद्यार्थी नभई प्रहरीको बाक्लो तैनाथी र अभिभावकबीच भीडको दृश्यले सुन्दर विद्यालयको स्वरुप नै अर्कै भएको थियो ।
पटकपटकको सहमति प्रयास सफल नभएपछि सत्यवती मा.वि.ले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छान्न चुनावी प्रतिस्पर्धा गराएको थियो । व्यवस्थापन समितिका लागि १ हजार ९ सय ८४ अभिभावकको मतदाता सूची थियो । एक सीटे अध्यक्ष पदका लागि ४ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए ।
वि.सं २०३३ सालमा स्थापित विद्यालयमा अध्यक्ष चयनका लागि चुनावी प्रक्रियामा जानु परेको विद्यालयका लागि पहिलो घटना हो । कक्षा १ देखि १२ सम्म पढाइ हुने विद्यालयमा २ हजार ५ सय ४६ विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीका अभिभावक मतदाता हुने व्यवस्था छ ।
विद्यालयको नेतृत्वका लागि यसअघि शिक्षक, अभिभावक संघमा रहेका तर, हाल पितृशोकमा परेका सुरेश वाग्ले, पूर्व शिक्षक करुण काफ्ले, पूर्व पदाधिकारी माधव अधिकारी तथा अभिभावक सूर्यचन्द्र लम्साल गरी चारज अध्यक्षको दाबेदारीका लागि मैदानमा उत्रिएका छन् ।
विद्यालयको शैक्षिक, भौतिक सुधारका लागि उम्मेदवारी दिएको र पितृ शोकमा पनि चुनावी मैदानमा प्रत्यक्ष सहभागि भएको अध्यक्ष
पदका प्रत्यासी सुरेश वाग्लेले बताए । उनी नेपाली काँगेस्र व्यास २ को वडा सभापतिका समेत प्रत्यासी रहेका थिए ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदका लागि उम्मेदवार दिएका लम्साल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको प्रचार विभाग प्रमुख हुन् ।
४ उम्मेदवारमध्ये करुणा काफ्ले र लम्साल नेपाली काँगे्रसनिकटका उम्मेदवार हुन् । दुवैले आफूहरु विद्यालयको शैक्षिक, भौतिक सुधारका लागि उम्मेदवारी दिएको बताए ।
आफनो अनुूुलको वातावरण बनाउन विद्यालय व्यवस्थापन समितिमा राजनीतिक हस्तक्षेप हुन थालेको विद्यालयका पूर्वअध्यक्ष सुर्यदेशभक्त अधिकारीले बताए ।
त्यस्तै अभिभावकहरुले चुनावी प्रक्रिया आफूलाई मन पर्ने उम्मेदार छान्ने अवसर भएता पनि खर्चिलो प्रणाली रहेको बताएका छन् ।
विद्यालयजस्तो संवेदशील ठाँउमा राजनीतिक हस्तक्षेप हुनु राम्रो नभएको व्यास नगरपालिका शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मी बताउँछन् । उनले विद्यालय जस्तो ठाँउमा खर्चिलो प्रणालीको चुनाव गर्नुभन्दा सहमतिले राम्रो व्यक्ति छान्नु पर्ने बताए ।