प्रज्ञा तिमल्सीना, काठमाडौं ।
कोरोना संक्रमण केही कम हुँदै गएको काठमाडौं उपत्यकामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगीको संक्रमण भने बढ्न थालेको छ ।
उपत्यकामा असोजदेखि मंसिरभित्र यसको प्रभाव बढी देखिन्छ । हाल मैतीदेवी र घट्टेकुलो क्षेत्रका बासिन्दा डेंगीबाट बढी संक्रमित देखिएका छन ।
एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगीको संक्रमण काठमाडौं उपत्यकामा बढ्न थालेको छ । दशैंअघि देखिन थालेको डेंगी म्याग्दी , कैलाली, संखुवासभामा समेत देखिएको छ ।
नेपालमा सन् २००४ मा भेटिएको डेंगीको संक्रमण दुई वर्षयता देशव्यापी बनेको छ । गतवर्ष प्रभावहीन डेंगीको संक्रमण यसपटक भने अप्रत्याशित रुपमा बढेको छ । सफा पानीमा बस्ने एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने डेगीं उपत्यकामा ३२ जनामा देखिसकेको छ ।
मैतीदेवी, घट्टेकुलोमा बढी भेटिएको डेंगी कोटेश्वर, टेकु, कालिमाटी क्षेत्रमा समेत फैलिएको छ । मंसिर महिनासम्म यसको खतरा नटर्ने संक्रामक रोग विज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ ।
साउन महिना यता भने नेपालमा २ सय ९० जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ । जसमा सर्वाधिक उपत्यकाका छन् । डेंगीका कारण ज्वरो आउने, टाउकोसहित मासंपेशी तथा शरीरको जोर्नी दुख्ने , निरन्तर बान्ता हुने जस्ता लक्षण देखिने गर्छ ।
समयमा नै पहिचान भई उपचार नभए विरामीको मृत्यु समेत हुनसक्ने विज्ञको चेतावनी छ । डेंगीले मानिसको रगतमा प्लेटेलेट्सको संख्या तीव्र रूपमा कमी गराउने विशेषज्ञ डा. पुनको भनाइ छ ।
डेंगी किटजन्य सरुवारोग हो । सामान्ययता उज्यालो समयमा टोक्ने लामखुट्टे मनसुनपछिको समयमा देखिने हुँदा घर वरपर सफा गर्ने, डेंगी देखिएको स्थानमा लामखुट्टे खोज र नष्ट गर्ने नै प्रमुख उपाय हो ।
समयमा नै उपचार गर्न सके डेंगीबाट हुने मृत्युदरलाई २ प्रतिशतभन्दा कममा झार्न सकिने चिकित्सकहरू बताउँछन् ।