सशस्त्र प्रहरी द्वारा छठघाट सरसफाई

रबिन्द्र यादव / नवलपरासी पश्चिम

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं. ६ हरपुरमा रहेको छठघाट लगायतका स्थानहरुमा आइतबार बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
हिन्दूहरुको महान पर्व छठको अवसरमा सशस्त्र प्रहरी बिओपी गुठी परसौनीको आयोजना हरपुर स्थित झुलनिपुर छठघाट, झुलनिपुर बजार लगायतको स्थानहरुमा सरसफाई गरिएको हो । उक्त सरसफाइ सशस्त्र प्रहरी बि ओ पी गुठी परसौनीका इन्सपेक्टर संतोष खरेलेको नेतृत्वमा रहेको सशस्त्र प्रहरी टोली र स्थानियहरुको उपस्थितिमा भएको हो ।

तराईमा धुमधामले मनाइने छठ पर्वमा सशस्त्र प्रहरी कोरोना महामारीको बेलामा पनि सिमा सुरक्षा संगसंगै छठघाट सरसफाइ तथा रंगरोदन गरेकोमा स्थानिय सशस्त्र प्रहरीको चौतर्फी प्रशंसा भएको छ ।

छठ पर्वका श्रद्धालु भक्तजनले बुधबार अस्ताउदो र बिहिवार उदाउदो सुर्यलाइ अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा समापन हुन्छ । सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड छठ पर्व कात्तिक र चैतमा गरि वर्षमा दुइ पटक मनाउने गरिन्छ ।

छठपूजामा सुर्य भगवान र छठी मातालाइ पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ ।

त्यसैगरी मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी,मेवा, उखु लगायतका फुलफुल पनि सुर्य भगवान र छठी मातालाइ अर्घ दिने गरिन्छ ।

छठ पर्वमा व्रत गरे सन्तान प्राप्त, दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मीक जनविश्वास रही आएको देखिन्छ ।

तराईको महत्वपूर्ण पर्वको रुपमा मानिएको छठ पर्व विभिन्न नदी तथा तलाउ एवं पोखरीको डिलमा मनाउने गरिन्छ । नदी तलाउको डिलमा सूर्यलाई अर्घ दिन ल्याइएका विभिन्न परिकारसहितका फलफूल प्रसादको रुपमा घाटमा राख्ने र व्रतालु समेत बस्ने गरेका छन् ।

तर अधिकांश घाटहरु छठ बाहेकको समयमा फोहोर हुने भएकाले छठ गर्नेहरु नै अधिकांश स्थानमा घाट सरसफाईमा व्यस्त हुन्छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार