– भुइमान्छे
जीवन रहदा श्रमिकलाई नसम्झिने यो शहर
आम श्रमिकका पिडा नबुझ्ने उसकै रहर
भुइमान्छेलाई मान्छे नै नगन्ने उसको ठहर
आहा मात्रै सुन्ने उसको मनको रहर
श्रमिक नेपाली पिडामा हुदा उसको मौनता
पिडितका आवाजहरु झनै दबाउने उसको ध्यय।
यो शहरले मेरो अवसानमा मृत्युउत्सव नमनाओस्,
कसैले पनि हार्दिक श्रद्दान्जली व्यक्त नगरोस्,
मेरो अवसानमा कसैको पनि मनमुटु नदुखोस् ,
म त यो समाजलाई काँडासरी बिझेको मान्छे !
मेरो प्राणपखेरु उड्दा किन कसैको मनमुटु दुखोस् ,
किन कि म यो समाजमै अट्न नसक्ने मान्छे ,
मलाई थाहा छ, यहाँ कहिले कसको प्राणपखेरु उड्छ भनेर,
स्मार्टफोनमा बुढीऔला थिच्न तम्तयार भएका एक हुल हुल्लाडहरु
कहिले श्रद्दान्जली लेखौ भनेर सिंह सिकारमा बसेको झैँ बसेका छन्।
पीडितका घाउमा मल्हम लगाउन, पीडकलाई कानुनी कठघरामा ल्याउन
न्याय र पद्धतिको मार्गमा यिनका पाईला चल्दै चल्दैनन्,
तर कसैको मृत्युमा यिनको मनमुटु छियाछिया र स्तब्ध भएको देखेर
अचेल सधै यिनको मगजको स्तर देखेर स्तब्ध छु।
मृत्युले बारम्बार भनिरह्यो ,
” ए भुइमान्छे ! तिम्रो अवसान यो शहरमा हुनुहुदैन,
तिम्रो अवसानमा यो शहरका बडेमानमा समाजसेवीहरुले
पालैपालो तिम्रो मृत्युउत्सव मनाउने मौका पाउनुहुदैन ! ”
एक हुल हुल्लाड समाजसेवीहरु भुइमान्छेको मृत्युको खबरले
स्तब्ध भएको देखेर हिजोआज काल पनि टाढिन थालेको छ ,
उसले भन्यो, ” चेतना शून्य भएका समाजसेवीहरूलाई
यो भन्दा बढी स्तब्ध हुने मौका दिनुहुदैन , हे भुइमान्छे
तिमीलाई टपक्कै टिपेर लैजान म अन्तै आउनेछु,
तिमीलाई सुटुक्क भेटेर लैजानेछु, कसैलाई थाहा नै नदिईकन ! ”
कालले भन्यो, ” उ त्यो तिम्रो साथीको मृत्युको खबरले
स्तब्ध भएका हरुको फेसबुकको भित्तोहरु नियालिरहे।
तिम्रो अवसानको खबरले बिहानै स्तब्ध भएकाहरु
दिउसो एक पार्कमा बार्बक्यु गर्दै रमाउदै थिए,
चिकेन र पोर्कका साप्राहरुमा आफ्ना दाह्रा खियाउदै थिए।
तिम्रो अवसानमा यत्ति धेरै भावविह्वल भएकाहरुको दुख देख्न नसकेर
हे भुइमान्छे म टिकटकतिर मोडिए, त्यहाँ पनि तिनकै हुल पो देखे
बाफ रे बाफ ! एउटा रेस्टुरेन्टमा ह्विस्कीको चुस्कीसंगै
गाना, बजाना, नाच र त्यो अट्टहास हाँसो देखेर
म स्तब्ध भए र फर्किए , अनि मनमनै सोचे
अहो ! तिम्रो अवसानमा यो पुरै सहर स्तब्ध पो भएको रहेछ,
सबैले तिम्रो मृत्युउत्सवमा शोक पो मनाइरहेका रहेछन् ”
हे भुइमान्छे, ” यो शहरमा तिम्रो अवसान हुनुहुदैन,
किन कि बेइमानको यो शहरमा बडेमानका समाजसेवीहरुले
पालैपालो तिम्रो मृत्युउत्सव मनाउनेछन्, तिमीलाई चितामा जलाउनेछन्,
भावविह्वल भएर दिनभरी तिम्रो मृत्युउत्सवमा भोजभतेर चलाउनेछन्। ”