काभ्रे ।
नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले ७० करोडको कथाको अदृश्य पात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भएको आरोप लगाउनुभएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेले बनेपामा शनिबार आयोजना गरेको कार्यक्रममा नेता बाँस्कोटाले जनताले त्यसको हिसावकिताव गर्ने बताउनुभयो ।
अध्यक्ष दाहालले केही दिनअघि पाँचखालमा भएको कार्यक्रममा ७० करोडको कथाको याद दिलाउँदै ओली सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभएको थियो ।
बाँस्कोटाले यस विषयमा आफूसँग सिधा बहस गर्नसमेत चुनौती दिनुभएको छ । उहाँले तथ्यका आरधारमा यस विषयमा टुँडिखेलमा, काभ्रेमा, टेलिभिजन च्यानलहरूमा बहस गर्न तयार रहेको बताउनुभयो । उहाँले अध्यक्ष दाहाल र आफ्नो बारेमा लागेको आरोपबारे छानविन गर्न पनि माग गर्नुभयो ।
फरक प्रसङ्गमा नेता बाँस्कोटाले दाहाललाई गठबन्धनबाट चुनाव लड्न काभ्रे आउन चुनौती दिनुभयो । पाँचवटै दल मिलेर चुनावमा आए पनि पराजित गर्ने उहाँले जिकिर गर्नुभयो । राजनीतिक रूपमा माओवादीले आत्महत्या गरिसकेको उहाँको टिप्पणी थियो ।