काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको गम्भीर आरोप लगाउनुभएको छ ।
अध्यक्ष ओलीले सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रन पनि पार्टी निकट अनेरास्ववियूका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।
अनेरास्ववियूको नयाँ नेतृत्वको सपथग्रहणका लागि मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जनताले भयरहित ढंगले जीवनयापन गर्न चाहेको उल्लेख गर्दै त्यसका विरुद्ध सरकार लागे प्रतिवादमा उत्रनुको विकल्प नरहेको पटक–पटक दोेहो¥याउनुभयो ।
अध्यक्ष ओलीले सरकारले जनतालाई दुःख दिने काम मात्रै गरेकाले आफूहरूले आपत्ति जनाउनुपरेको पनि स्पष्ट पार्नुभयो । ‘सरकार निर्देशित, सरकार संचालित, सरकार संरक्षित गुण्डागर्दी जुन भइराखेको छ, त्यस कुराको पनि तपाईंहरूले भण्डाफोर गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘मैले अस्ती बोल्दा पनि भनेको छु–जनता शान्तिपूर्ण ढंगले बाँच्न चाहन्छ । एउटा न्यायपूर्ण समाज होस्, न्यायपूर्ण व्यवहार होस् र त्यहाँ शान्तिपूर्ण, भयरहित सम्मानजनक व्यवहार होस् भन्ने जनता चाहन्छ ।’
ओलीले भन्नुभयो, ‘शान्तिपूर्ण ढंगले जीवनयापन गर्न चाहन्छ । तर जनतालाई त्यसरी बस्न दिँदै दिइएन भने जनताले के गर्छ ? प्रतिवाद गर्नु परेन । जनता भोलि प्रतिवादमा निस्कन्छ । अथवा असहज, अप्ठ्यारो, प्रतिकूल परिस्थिति आयो भने सरकारले त्यस्तो बेलामा साथ पाउँदैन । सबै चुप लागेर मुकदर्शक भएर हेर्छन् ।’
ओलीले २०१७ सालमा दुई तिहाइ ल्याएको कांग्रेसले संसद अपदस्थ गर्दा कांग्रेस चुप लागेर बस्नाले ३० वर्षसम्म चलेको स्मरण गर्नुभयो । ‘२०१७ साल हेरे हुन्छ । २०१७ सालमा दुई तिहाई ल्याएको काँग्रेस संसद सबै अपदस्थ गर्दा पनि काँग्रेस केही पनि बोलेन । कोही पनि बोलेन । ३० वर्षसम्म किन चल्यो ?’ उहाँले भन्नुभयो, ‘पछि त्यही सिको गरेर ज्ञानेन्द्रले गरेको होइन ? माघ १९ गर्दा ६१ सालबाट ६२ को अन्त्यमा पुग्दा त्यस रेजिमको नै समाप्त गरिदियो जनताले ।’
जनतालाई सरकारले दुःख दिन नहुने बताउँदै ओलीले लोकतन्त्र केही मानिसहरू शासनमा पुग्ने प्रणाली मात्रै नभएको तर्क गर्नुभयो । ‘यो जनतालाई छकाउने प्रणाली होइन, जनतालाई सेवा गर्ने, जनताको अधिकारको सुरक्षा गर्ने प्रणाली हो,’ उहाँले भन्नुभयो, ‘सरकारले त जनताको अधिकार सुरक्षा गर्नुपर्ने ठाउँमा जनताको अधिकार खोसेर, जनतालाई दुःख दिएर, कानुनी ढंगले दुःख दिएर, अमानवीय ढंगले दुःख दिएर कुनै लोकतान्त्रिक आचरण भएन । हाम्रो आपत्ति त्यसमा हो ।’
अध्यक्ष ओलीले जनताको हितमा केन्द्रित भएर अघि बढ्न पनि अनेरास्ववियूका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । उहाँले मुलुकलाई समृद्ध बनाउने अभियानलाई लक्ष्य बनाएर युवा, विद्यार्थीहरूले अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।