महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै विश्वप्रकाश शर्माले के भने ?

काठमाडौं ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ ।

बिहीबार बीपी स्मृति दिवसको अवसरमा काठमाडौंको सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेर कांग्रेस प्रवक्ता शर्माले महामन्त्रीमा उमेदवारी दिने घोषणा गर्नुभएको हो ।

उम्मेदवारी घोषणा कार्यक्रममा शर्माले आफू महामन्त्री बने नेपाली कांग्रेसलाई लगातार तीन आमनिर्वाचन जिताउन भूमिका खेल्ने संकल्प गर्नुभयो ।

बीपीले देश समृद्ध बनाउने हो भने तीन पटक लगातार कांग्रेसले जित्नुपर्छ भनेको स्मरण गर्दै शर्माले भन्नुभयो, ‘आमनिर्वाचनमा कांग्रेसले एक पटक जित्ने अर्को पटक हार्ने भएको छ । कांग्रेसभित्र भएका सबै साथीहरूलाई एकजुट बनाएर लगातार तीन वटा आमनिर्वाचन जिताउने संकल्प लिएर मैले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको छु ।’

हाल केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनुभएका शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेसँगै १४औं महाधिवेशन युवा आकर्षण हुने देखिएको छ ।

यसअघि, अर्का केन्द्रीय सदस्य गगन थापाले पनि महामन्त्री उठ्ने घोषणा गरिसक्नुभएको छ । १३ औं महाधिवेशनमा पनि महामन्त्रीको उम्मेदवार रहनुभएका थापाले यस पटक पनि सोही पदमा प्रतिष्पर्धा गर्ने घोषणा गर्नुभएको हो ।

अर्का युवा नेता प्रदीप पौडेलले पनि महामन्त्रीमै प्रतिष्पर्धा गर्ने बताइसक्नुभएको छ । भदौं १८ गतेबाट वडा अधिवेशन थालेको कांग्रेसमा अझै पनि २१ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक हुन सकेको छैन ।

सभापति बन्न नेताहरुको दौडधूप चलिरहेका बेला पार्टीभित्र अर्को आकर्षणको पद मानिएको महामन्त्रीमा एकपछि अर्को उम्मेदवारी घोषणा हुन थालेको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार