काठमाडौं ।
दार्चुला तुइन घटना र हेलिकोप्टर प्रकरण गरी दुवैबारे भारतलाई कूटनीतिक नोट पठाइएको छ ।
दार्चुला तुइन घटनाको छानविन प्रतिवेदनपछि पनि चुप रहेको सरकारले उक्त क्षेत्रमा अनुमतिविना भारतीय हेलिकप्टर घुमेपछि बाध्य भएर भारतलाई कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयले दुवै पत्र कूटनीतिक च्यानल मार्फत् पठाएको बताइएको छ ।
साउन १५ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिँदा बेपत्ता भएका दार्चुला ब्यास नगरपालिका–२ का जयसिंह धामी अझैँसम्म बेपत्ता छन् । उनी महाकाली नदीमा खसेर वेपत्ता भएका थिए ।
उक्त घटना घटेपछि गृह मन्त्रालयले गृह मन्त्रालयले सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन समिति गठन गरेको थियो । छानविन समितिले एसएसबीकै उपस्थितिमा उक्त घटना घटेको र कारवाही गर्न प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदन प्राप्त गरेपछि पनि सरकारले उक्त घटनाबारे ठोस कदम चाल्न सकिरहेको थिएन । यहीँ अवस्थामा भारतीय हेलिकप्टर दार्चुला क्षेत्रमा विनाअनुमति कयौँपटक फन्को मारेपछि बाध्य भएर सरकारले दुवै घटनाबारे भारतलाई कूटनीतिक नोट पठाएको छ ।