काठमाडौँको माया



-जयन्त सोकल

म सेतो सर्ट र सेतै जुत्ता लगाएको
माटो रंगको मान्छे
काठमाडौँको छातिमा
उसकै मुटु दुख्ने गरि माटो टेकेर उभिएको छु।

गोजिमा नेपाल सरकारको
लाहाछाप हानेको पासपोर्ट र नागरिकता
बोकेको छु।
यदि म आफ्नै देशमा हराएँ भने?
अथवा काठमाडौँले मेरो परिचय अस्विकार
गर्यो भने?
म चहान्थेँ उसलाई देखाउन
सिंहदरबारमा छिरेर उसैले लेखेको नागरिक बिधान
र मेरो असली परिचय।

तर,
म त काठमाडौँलाई गलत आरोप लाउदै रहेछु।
काठमाडौँ त मलाई सम्झेर उसरी नै
सुर्ताएर बसेको रहेछ।

मलाई देख्ने बित्तिकै खुशीले
अध्यारै भए पनि मुस्कुरायो काठमाडौँ
कतै फेरिएको रहेनछ
मलाई देख्ने बित्तिकै
उसरी नै धुलो उडायो
हर्षले होला खुशी भयो
असारमा झै हिलो छ्याप्यो- उमङ्गले होला
खुशी भयो।
छाती खोलेरै चिच्यायो- मेरो स्वागतमा होला
खुशी भयो।

काठमाडौँ म आएको देखेर
पहिले- पहिले जसरी खुशी हुन्थ्यो
साच्चै त्यो भन्दा धेरै खुशी भयो यो पटक

म पनि काठमाडौँको मायाले
विभोर भएँ
पुरै काठमाडौँलाई आज म
अंकमाल गरेर खुशी बाढ्छु
भनेर चढेँ – कान्तिपुर बस।

काठमाडौँ गीत गाउन थालो
-तुझसे नाराज़ हें जिन्दगी…. !!

काठमाडौँ म आएको खुशीमा
भिडभाड पन्साउदै हिड्यो।
सबैलाई सुनायो म आएको खबर।
काठमाडौँले सुटुक्क त्यहि बेला भन्यो।
म संसार भन्दा फरक छु।

घडि देखायो- आफ्नै समय चलाउदो रहेछ
उदाङ्गो छाती देखायो- मनमन ले कुरा गरेर
यो शहरमा किन हल्ला फिजाउनु छ र?
आस्थाका मन्दिर देखायो- धर्म यहि पाईन्छ भन्यो।
साच्चैं काठमाडौँ आफु बाचेको रहेछ
मैले धोका दिएको- घाउ बोकेर
आफ्नै ईतिहास बोकेर
आफ्नोपन बोकेर।

हिड्दै काठमाडौँ
म चढेको कान्तिपुर बस
बसपार्क तिर छिर्यो
म पनि छिरे
साच्चैं आज म पुरै काठमाडौँको मायामा
पग्लिन चाहान्थे।

तर, मेरा केहि सोल्टिहरु आए
के छ? सोल्टि भने।
मैले-म काठमाडौँ संग प्रेममा छु भनेँ ।

काठमाडौँलाई प्रेम गर्न पाईन्छ पाईन्न
त्यो त मलाई काठ्माण्डुले भनेन
मेरा आफ्नै सोल्टिहरुले
च्याप्प समाते र कान्तिपुर बसबाट ओराले
र अर्को बस चठाई दिए
बस काठमाडौँ छोडेर बाहिरियो।

त्यो साँझ काठमाडौँ आँखा छोपेर
रुदै थियो।
सायद राति अबेर सम्म त्यो झरी रोकिएन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार