“रंगुन मेरो घर”


वसन्त प्रकाश जोशी /प न पा ६ डडेल्धुरा

अग्ला टार चुली पहाड हरिया-शैलेस र शिखर,
बेसी फाँट हुँदै बिहार जलको-रंगून मेरो घर।
ऐला रंगुन औ पुना पुनपुना-मिल्दा अती सुन्दर,
झर्ना ताल नदि खोला र खहरे-रंगून मेरो घर।।

राखी आँचलमा उत्तर धरा-बस्छन् महाभारत,
चूरे सारथि भै हाक्छ जसको-सम्मुख दिशाको रथ।
काली हेमनदी पश्चिम सिमा-पुर्बेस घण्टेष्वर,
हिंसा भेदनको बिरासत पुरी-रंगून मेरो घर।।

फुल्दा आँप सिमल् बसंत ॠतुमा-हास्छन् घना जंगल,
बोल्दा मोरचकोर पंक्षी पपिहा-जाग्छन सबै मंगल।
हुन्छन् प्रेम पिपासुका हृदयमा- ज्वालाहरु मथ्थर,
हेरि प्यास मेटाउछन् नयनले-रंगून मेरो घर।।

फर्सा हात बिसे धरेर भगवान्-गर्छन् जाहाँ मर्दन।
आफ्ना पाप पखाली दुर्जनहरु-हुन्छन् जाहा सज्जन।
जाहाँ बेद स्वयं बिबेक हरुमा-जोडेर बस्छन् कर,
त्रेताको बरदान हो सुन सखे-रंगून मेरो घर।।

मेरो जन्म थलो बसेछ अहिले-पर्खेर सम्भावना,
त्यागी गन्ध सुगन्धको पवनमा-छर्दैछ सत्भावना।
होला वृष्टि अवश्य शुधा सु रसको-बेला छ आउनु तर,
सृष्टिको रचना भु-सोर्ग धरणी-रंगून मेरो घर।।
—————-५——————–

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार