काबुल ।
अमेरिकासहित पश्चिमा शक्ति राष्ट्रहरूले अफगानिस्तानको राजधानी काबुलबाट आफ्ना कूटनीतिज्ञ र नागरिक फिर्ता लैजान सैनिक पठाइरहेका बेला चीनले भने काबुलस्थित आफ्नो राजदूतावासले सामान्य अवस्थामा झैं काम गरिरहने जनाएको छ ।
सोमबार विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरू केही फर्किसकेको र केही फर्किन नचाहेर उतै बसिरहेको बताउनुभयो ।
‘हाम्रो दूतावासले सामान्य अवस्थामा जसरी काम गरिरहेको छ । धेरै चिनियाँहरूलाई यसअघि नै स्वदेश फर्किने व्यवस्था भइसकेको छ । केहीले उतै बस्ने निर्णय गरेका छन् । दूतावास उनीहरूसँग नियमित सम्पर्कमा छ र उनीहरू सुरक्षित छन्,’ प्रवक्ता हुआले भन्नुभयो ।
चीनले अफगानी जनताको निर्णयको आफूले सम्मान गर्ने उल्लेख गर्दै तालिबानहरूले यसअघि गरेको प्रतिवद्धताअनुसार वार्ताका माध्यमबाट खुला र समावेश सरकार बनाउने अपेक्षा व्यक्त गरेको बीबीसीले जनाएकाे छ ।
चीनको मुस्लिमबहुल प्रान्त सिन्जियाङसँग सीमा जोडिएको अफगानिस्तानमा तालिबानहरूले प्रभाव बढाउँदै लगेपछि यसअघि नै चीनले उसका अधिकारीहरूलाई बोलाएर छलफल गरेको थियो । गत महिना तालिबान प्रतिनिधिहरूले चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेटेका थिए ।
उता रूसले तालिबान प्रतिनिधिहरूसँग कुरा गर्ने भएको छ । मंगलबार काबुलस्थित रूसी दूतले तालिबानहरूलाई भेट्न लागेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीन, रूससँगै टर्की र पाकिस्तानले पनि काबुलस्थित आफ्ना दूतावास बन्द नगर्ने बताएका छन् ।