लण्डन ।
बेलायतमा कोरोना संक्रमण र मृत्युदर फेरी बढ्न थालेको छ । मंगलबार कोरोना भाइरसको सङ्क्रमणबाट १३८ जनाको ज्यान गएको छ ।
यो मृत्यु गएको पाँच महिना पछिको नै सबैभन्दा बढी हो । यसअघि गएको मार्च १७ पछि यहाँ मंगलबार सबैभन्दा बढी नागरिकको यो भाइरसबाट ज्यान गएको थियो ।
यहाँ पछिल्लो समयमा कोरोनाबाट सम्बन्धित मृत्यु बढ्दै गएको छ । यहाँ अहिलेसम्म एक लाख २९ हजार ८८१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
पछिल्ला केही हप्तामा यहाँ फेरि नयाँ भेरिएन्टको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएको छ । यसबाट सङ्क्रमणमा पनि वृद्धि भएको यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् ।
त्यसैगरी यहाँ गएको २४ घन्टामा २१ हजार ६९१ जना सङ्क्रमित भएका छन् । यो संख्या पनि पछिल्लो समयमा देखिएको धेरै संख्या हो ।
यो समेत गरी बेलायतमा ५९ लाखभन्दा बढी मानिस यो भाइरसबाट सङ्क्रमित भएका छन् ।
यूकेमा ६ महिना भन्दा लामो लकडाउन केही हप्ता अघि मात्रै खुलाइएको थियो । यद्यपि यहाँ कोभिडविरुद्धको खोप प्रभावकारी बनाउँदै अघि बढाइएको भएपनि डेल्टा भेरियन्टको कारण चिन्ता बढेको छ ।