टोकियो।
पौडीकी सनसनी गौरिका सिंहले टोकियो ओलम्पिक २०२० मा महिला १ सय मिटर फ्रिस्टाइल १ मिनेट ११ मिलिसकेन्डमा पूरा गर्दै बुधबार आफ्नै नामको राष्ट्रिय कीर्तिमानलाई टोकियो अक्वाटिक्स सेन्टरमा सुधार गरेकी छन् । नयाँ राष्ट्रिय किर्तिमान बनाउन सकेकोमा उनले खुशी व्यक्त गरिन्।
कोभिड १९ को कारण लामो समय अभ्यास गर्न नपाएको र आफ्नो कोच पनि साथमा नभएको कारण अपेक्षाकृत नतिजा दिन नसकेको उनले जिकिर गरिन्।
उनले ५० मिटरको स्वीमिङ पुल (लङ कोर्स) मा दुई वर्षअघि १८ औं फिना वर्ल्ड च्याम्पियनसिप २०१९ (ग्वाङ्जु, दक्षिण कोरिया) मा निकालेको १ मिनेट ६२ मिलिसेकन्डको रेकर्डलाई टोकियो ओलम्पिकमा सुधार गरेकी हुन् । हिट्स १ मा उनीसँगै नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीले प्रतिस्पर्धा गरेका थिए, जहाँ नाइजेरियाकी एबियोला उगुन्बानयोले ५९.७४ सेकेन्डसाथ पहिलो भइन् । यसमा गौरिका तेस्रो भइन् । यो स्पर्धामा समयको आधारमा शीर्ष १६ खेलाडी सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
१८ वर्षीया गौरिकाको गृष्मकालीन ओलम्पिकमा दोस्रो सहभागिता हो यो । यसअघि उनले रियो ओलम्पिक २०१६ मा प्रतिस्पर्धा गरेकी थिइन् । उनले ब्राजिली भूमिमा ५ वर्षअघि ११ हजार बढी खेलाडीमध्ये सबभन्दा कम उमेरकी खेलाडी भएर विश्वमै चर्चा पाएकी थिइन् । त्यस बेला १३ वर्ष २५५ दिनको छंदा प्रतिस्पर्धा गरेकी उनी आफ्नो हिट्समा पहिलो भएकी थिइन् ।
नेपालले आयोजना गरेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) २०१९ मा चार स्वर्ण, २ रजत र ३ कांस्यसहित नौ पदक जितेकी उनी घरेलु प्रतियोगितामा सात वर्षयता कीर्तिमानकी पर्याय नै बनेकी छन् । उनले १२ औं साग २०१६ (गुवहाटी) मा पनि १ रजत र ३ कांस्यसहित ४ पदक जितेकी थिइन् ।
पौडीकै पुरुष १ सय मिटर फ्रिस्टाइलमा अलेक्जेन्डर गाडेगार्ड शाहले अघिल्लो दिन मंगलबार आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका थिए । उनले ५३.४१ सेकेन्डको समय निकाल्दै १८ औं फिना वल्र्ड च्याम्पियनसिप २०१९ मा बनाएको ५६.२८ सेकेन्डको कीर्तिमानलाई टोकियो ओलम्पिकमा सुधार गरेका हुन् ।
फोटो : कान्तिपुर