खेलकुद जगतको हीरा करण ब . चन्द , प्रबासमा नेपालको नाम राख्दै ।

लिस्बन, पोर्चुगल

प्रवासिएका सबैको आ आफ्नै कथा छन् ब्यथा छन् बाध्यता र परिस्थिति संग हातेमालो गर्दै प्रबासमा खेलकुदलाई अगाडी बढाइरहेका छन् एक युवा करण बहादुर चन्द। कंचनपुर जिल्ला भीमदत्त नगरपालिका २ उल्टाखामका २४ वर्षिय करण बहादुर चन्द परदेशमा पटक-पटक सम्मानीत र पुरस्कृत हुने नेपाली युवा बनेका छन । परिवारको आर्थिक अवस्था नाजुक भएका कारण सन् २०१९ मा युएई छिरेका चन्दले आफ्नो काम सङ्गै खेललाई पनि निरन्तरता दिएर नेपालको नाम बिश्वमा चिनाउन सफल भएका हुन।यसका पछाडी उनको अथक प्रयास , अविरल प्रशिक्षण र आत्मबल रहेको छ।

विगत लामो समयदेखि निरन्तर खेल क्षेत्रमा सहभागिता जनाईरहेका चन्दलाई युएईको The Tigers Martial Art Club ले सम्मान पत्र प्रदान गरेको छ । बैदेशीक रोजगारीमा रहेका उनी फुर्सदको समयको सदुपयोग गर्दै देशको नाम राख्नमा तल्लीन छन ।उनी एकपछी अर्को जित हात पार्दै देशको नाम राख्न सफल भैरहेका छन। उनी Dubai Police Academy, Arab Teakwondo Union Federation बाट समेत पटक पटक सम्मानित भएका छन ।


चन्द भन्छन: “परिश्रम र मेहेनत गर्दै जानूपर्छ, सफलताले पछ्याई रहनेछ।“ १० हजार घन्टा तालिम गरेपछी बल्ल १ खेलाडी खेल्नको लागि योग्य हुन्छ।सफलता र नतिजा भनेको केही समयमा नै आउने कुरा होइन । २२ बर्ष सम्म दिन को २ घन्टा तालिम गर्ने हो भने एक वर्षमा ६०० घन्टाको हिसाबले २२ बर्षमा १३ हजार २ सय घन्टा हुन आउछ।हामिले लामो समयको भिजन राखेर मेहेनत गर्ने हो भने ओलम्पिकमा पदक ल्याउन सकिन्छ जस्तो लाग्छ । मैले आफैले सम्भव नभए पनि म प्रयास गर्दैछु र सबैले आफ्नो आफ्नो ठाउँबाट प्रयास जारी राखौ अब निरन्तर खेलाडी लाई १० हजार घन्टा उत्कृष्ट तालिम दिएर हेरौ, परिणाम पक्कै आउनेछ”।

उनको यो भनाइ अनुसार खेलाडीलाई यसरी उत्कृष्ट तालिम दिएर खेल मैदानमा उतार्दा नतिजा पक्कै पनि सकारात्मक आउनेछ । त्यसैले सबभन्दा पहिला सबैले आ-आफ्नो क्षेत्रबाट खेलाडीलाई यसरी उत्कृष्ट तालिम दिन अति आवश्यक छ ।

ग्रामिण परिवेशबाट हुर्के बढेका चन्द नेपालको तेक्वान्दो क्षेत्रले आफुलाई देशमै बस्नको लागि आवश्यक माहौल मिलाउन नसकेकोमा कुनै दुखेशो नरहेको बताए पनि जहाँ गएपनि नेपालको झन्डा बोकेर जाने गरेको र खेल जीवनमा निरन्तर नेपालको झन्डा बोकिरहने बताए ! हालै उनले युरोप , अमेरिका बाट समेत खेल्नको लागि अफर आइरहेको बताएका छन् । पोर्चुगलबाट उनलाई पोर्चुगिस अम्ब्यासडर्स ओपन तेक्वान्दो कप खेल्नका लागि निम्तो प्राप्त भएको र निकट भविष्यमा हुने अन्य खेलमा पनि निम्तो आउने क्रम जारी रहेको जानकारी दिए !

पोर्चुगिस तेक्वान्दो फेडेरेसनका चेयरम्यान Nuno Semedo ले भोईस अफ नेपाल टि भी संग भने करण चन्द जस्ता होनहार युवाखेलाडीलाई पोर्चुगलमा खेल्न बोलाउन पाउदा हामी निकै उत्साहित भएका छौ , आशा छ उहाँ पोर्चुगलमा आएर आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्नेछन।

इस्टोनिया तेक्वान्दो फेडेरेसनबाट निम्तो

चन्दलाई हालै इस्टोनियाबाट युरोपियन तेक्वान्दो क्याडेट्स च्याम्पियनशिप खेल्नका लागि अफिसियल निम्तो प्राप्त भएको छ । भोईस अफ नेपाल सँग कुरा गर्दै चन्दले भने युरोपमा आएर खेल्न पाउनु मेरा लागि निकै ठुलो अवसर हो , म यो अवसरलाई गुमाउन चाहन्न । नेपालले नचिनेको हीराहरू बिदेशमा कठिन समय र परिस्थितिमा समेत चम्किदै छन् , यदि नेपाल सरकारले खेलाडीलाई उनीहरुको क्षमताको सहि मुल्यांकन र कदर गरी उनीहरुलाई देशमै उपयुक्त ट्रेनिंग दिने हो भने देश छोडेर विदेशिने क्रम रोकिने कुरामा कुनै दुईमत छैन तर बिडम्बना नेपालमा राम्रा भन्दा हाम्रालाई प्राथमिकता दिइने परिपाटीले हामी जस्ता तमाम खेलाडीहरु बिदेसीएका छन् , बिदेसिएका मात्र कहाँ उतै भासिएका छन् ।
चन्दले आफु जहाँ रहेपनि खेल बाट अलग नरहने र भविष्यमा नेपालमा आफैले खेलकुद एकेडेमी खोलेर नेपाली खेलकुद जगतलाई योग्य खेलाडी दिने योजना रहेको बताए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार