काठमाडौँ ।
नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले दुषित राजनीतिक खेलको मतियार बन्नुभन्दा सांसद पदबाटै बाहिरिनु आफ्ना लागि उचित भएको बताएका छन् । आइतबार पुर्नस्थापित प्रतिनिधिसभाको बैठक बस्नुअघि राजीनामा दिएका रावलले दुषित राजनीतिक खेल भन्दा बाहिर रहने भन्दै राजीनामा दिएका हुन् ।
रावलले आइतबार नै संघीय संसद भवनमा पुगेर सभामुख अग्नि सापकोटालाई राजीनामा पत्र बुझाएका छन् । राजीनामा पत्र बुझाएपछि रावलले भने, ‘देशको हितविरुद्ध भइरहेको काम रोक्न मैले प्रयत्न गरेको थिएँ। त्यसलाई रोक्न अनेक प्रयास पनि गरेको थिएँ, प्रतिनिधिसभा विघटनयता उच्च राजनीतिक नेतृत्वमा चरम स्वार्थी व्यवहार देखियो। नेताहरु निजी स्वार्थमा लागे ।’
उनले दुषित राजनीतिक खेलको मतियार बन्नुभन्दा सांसद पदबाटै बाहिरिनु आफ्ना लागि उचित भएको पनि बताए। ‘देशमा हाल भइरहेको जनविरोधी राजनीतिमा मतियार भएर दुषित खेल खेल्नु भन्दा प्रतिनिधिसभाबाट नै अलग भएको छु । राजनीति र त्यसका सबै संयन्त्र देश र जनताको हितमा लाग्नुपर्ने थियो तर राजनीतिक नेतृत्वले देशलाई अनिश्चयतिर धकेलिदियो ।’