पोखरामा कोरोना खोपमा अनियमितता : लक्षित वर्ग वञ्चित, पहुँचवालाको मनोमानी !

पोखरा ।

पहुँचवालाले आ–आफ्नो व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाएका कारण कास्कीमा लक्षित वर्ग खोप लगाउनबाट वञ्चित भएका छन् ।

पोखरा महानगरपालिकाले सुरु गरेको खोप अभियानमा महानगरका स्वास्थ्य महाशाखादेखि वडा अध्यक्षहरूले समेत आफन्त, नातेदार, नजिककालाई खोप लगाइदिएपछि खोपका लागि दिनभर लाइन बसेका पहुँच नभएका नलगाइ घर फर्कन बाध्य भएका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले खोप केन्द्रको ३ वटा टोली बनाएर अनुगमन गरेको दाबी गर्नुभयो । अनुगमनका क्रममा घूसपैठ भएको पाइएको उहाँले स्वीकार गर्नुभयो । महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले हालसम्म पोखरामा ३६ हजार मात्र खोप लगाइएको जानकारी दिनुभयो ।

यति धेरै खोप लगाइसक्दा पनि लक्षित वर्ग पन्छाएर आफन्तहरूलाई खोप लगाउने र तोकिएको उमेर समूहका व्यक्तिलाई पाखा लगाउने काम भएको छ । जसका कारण केही खोप केन्द्रमा विवाद हुनुका साथै झडपको अवस्था समेत सिर्जना हुन पुगेको थियो ।

यसैबीच शनिबारदेखि विभिन्न पेसागत समूहका व्यक्तिलाई लक्षित गरी पूर्वसूचना जारी गरी खोप केन्द्र तोकिए पनि अन्तिममा खोप अभाव भएको भन्दै स्थगित गरिएको छ । खोप लगाउने आशामा अविरल वर्षाबीच मानिसहरू पोखरा ३, नदीपुरस्थित कन्या क्याम्पसमा पुगेका थिए । तर, अन्तिम समयमा उनीहरू खोप नलगाइ फर्कन बाध्य भए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार