बुहारीको हत्या गरी शव सेप्टिक ट्यांकी मुनि गाडिएको अवस्थामा फेला , ५ जना पक्राउ !

काठमाडौं ।

गत जेठ २० गतेदेखि हराईरहेकी महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर ७ भ्रमरपुराकी सुजिता ठाकुरको शव सेप्टिक ट्यांकीमुनी गाडेको अवस्थामा फेला परेको छ ।

२७ बर्षिया सुजिताको शव आइतबार बिहान करीब १० बजे फेला परेको महोत्तरी प्रहरीले जनाएको छ । प्रहरीले हत्या आरोपमा सुजिताका श्रीमान, ससुरा, देवरसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो । घरदेखि आधा किलोमिटर टाढा रहेको मृतकका ससुराको जग्गामा शव फेला परेको हो ।

सेप्टिक ट्यांकी भन्दा मुनि शव गाडेर त्यसमाथि ढलान गरिएको अवस्थामा फेला परेको महोत्तरीका प्रहरी उपरिक्षक दिनेश आचार्यले जानकारी दिनुभएको छ । स्थानमा काठ गोदाम समेत रहेको छ । चार फिटमुनि शव राखेर त्यसमाथि ढलान गरिएको र ढलानमाथि तीन फिट जति पानी जमेको पाइएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान शव निकालेर प्रहरीले मृतकका आमा–बुवाबाट शवको पहिचान गरेको थियो । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । सुजिताका ससुरा र देवरले उनको हत्या गरेर पहिले अन्यत्रै खुला खेतमा शव गाडेको र उक्त ठाउँ पत्ता लाग्नसक्ने ठानेर सेफ्टिक ट्याङ्की मुनि गाडेको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बताएको छ ।

पहिले शव गाडिएको स्थानमा कपाल, तन्नाका केही टुक्रा र नुन फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाउने क्रममा प्राप्त सूचनाका आधारमा शव गाडेको ठाउँ फेला परेको पनि प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा घरायसी विवादका कारण सुजिताको हत्या भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार