लिस्बन।
गैर आवसीय नेपाली संघ एनआरएनए पोर्चुगलको सदस्य बन्नेहरुको संख्या निकै न्यून भएपछि संघले तेश्रोपटक थप दुई दिनको समयावधि बढाएको छ।
शुरुमा संघको सदस्य बन्ने अन्तिम म्याद २६ जुन निर्धारण गरिएको थियो। सो समयमा संघको पंजीकृत सदस्य बन्नेहरुको संख्या सयभन्दा पनि कम थियो।
लगत्तै संघको कार्यसमितिको बैठकले पंजीकृत सदस्य बन्ने म्याद बढाएर ३० जुन कायम गर्यो। उक्त समयमा पनि पोर्चुगलमा रहेका आम नेपालीले संघको सदस्य बन्न खासै रुचि देखाएनन्। संघमा आफ्नो प्रभुत्व जमाउन लागिपरेका दुई फरक राजनैतिक धारहरु जनसम्पर्क समिति र प्रवासी नेपाली मंचले जति बल गर्दा पनि आफ्नै कार्यकर्ताहरु पनि संघको सदस्य बन्न राजि भएनन्।
कांग्रेस निकट जनसम्पर्क समिति आफ्नै समितिमा पंजीकृत सदस्य संख्या नपुगेर थला परेको छ। उ आफ्नै समितिभित्र पंजीकृत सदस्यको खोजीमा छ।
पछिल्लो समय संघका पदाधिकारीहरु नै गुण्डागर्दी, दादागिरी, र ठगीमा संलग्न भएपछि संघप्रति आम नेपालीको रुचि घट्दो छ। नेतृत्व आफ्ना गल्तीहरु स्वीकार गर्न र सुध्रिन तयार छैन, आम नेपाली श्रमिक संघको सदस्य बन्न राजी छैनन्।
थपिएको समयमा पनि सदस्यहरुको संख्यामा खासै बढोत्तरी नभएपछि संघले आकस्मिक बैठक गर्दै दोश्रोपटक सदस्य बन्ने म्याद एक दिन थपेर १ जुलाई बनायो। एक जुलाईको मध्यरातिसम्म मात्र ३९६ जना सदस्यहरु प्रमाणीकरण भए।
एनआरएनए केन्द्रले एनसीसी हरेक हजार सदस्य संख्यामा एक जना आईसीसी सदस्य दिने गर्दछ। दुईजना आईसीसी सदस्य ताकेको एनआरएनए पोर्चुगलमा एक जना आईसीसी पनि नहुने भएपछि संघको आज बसेको आकस्मिक बैठकले तेश्रोपटक दुई दिन म्याद थपेको छ।
संघका अनुसार सदस्य बन्ने अन्तिम म्याद ३ जुलाईको मध्यराति सकिनेछ। यो समाचार तयार पार्दासम्म जम्मा ४३४ जना पंजीकृत सदस्यहरु बनेका छन्।
संघको आधिकारिक तथ्यांक अनुसार लिस्बन क्षेत्रमा २४२ जना, अल्गार्भमा १०० जना , अलेन्तेजोमा ३३ जना , सेतुवालमा १३ जना, पोर्तोबाट ४६ जना सदस्य बनेका छन्। नेपालीहरुको राम्रै बसोवास भएको क्षेत्र कोइम्ब्राबाट संघको सदस्य बन्नेहरुको संख्या शुन्य छ।
Nrna Updated Listसंघका पदाधिकारीहरु नै गुण्डागर्दी, दादागिरी, र ठगीमा संलग्न भएपछि एकातिर संघलाई बहिष्कार गर्नेहरुको संख्या बढ्दो छ भने अर्कोतिर संघका पदाधिकारीहरुको गुण्डागर्दी, दादागिरी, र ठगी काण्डबाट असन्तुष्ट भएका युवा पक्षले समानान्तर एनआरएनए खोल्ने चेतावनी दिदै आएका छन्।
संघले नयाँ सदस्यता र नविकरणको लागि अनलाइन आबेदन दिनेको संख्या उत्साहजनक भएको दाबी गएको छ । सदस्यता प्रमाणीकरण कार्य भईरहेकोले यो संख्या निकै बढ्नसक्ने उसको भनाई छ।
तर पछिल्लो २ दिनमा राजनैतिक दलका भात्री संगठनहरुले नक्कली सदस्य बनाउने कार्य गरिरहेको श्रोतको दावी छ। हरेक बर्ष सदस्यता नवीकरणको अन्तिम दिनमा नक्कली सदस्य बनाउने कार्य हुदै आएको बिगतका घटनाले देखाएको छ।