महानगरले भत्कायो असहायलाई खाना पकाउने ठाउँ, झडप हुदा हाम्रो टीम नेपालका २३ जना प्रहरी नियन्त्रणमा !

काठमाडौं।

काठमाडौंको अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटनजिकै हाम्रो टिम नेपालले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा खाली गरिएको छ ।

काठमाडौं महानगर प्रहरी र नेपाल प्रहरीको टोलीले सार्वजनिक जग्गा सोमबार खाली गराएको हो । आफूसँग समन्वय नगरी सार्वजनिक जग्गाको प्रयोग गरेको भन्दै महानगरले जग्गा खाली गराएको हो । हाम्राे टीम नेपालले खाना खान नपाएकाहरूलाई नि:शुल्क खाना खुवाउँदै आएकाे थियाे ।

सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजना अनुसार सार्वजनिक जग्गामा बनाइएका टहरा हटाइएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।

‘एक वर्षदेखि ‘हाम्रो टिम नेपाल’ समूहका साथीहरूले टहरा बनाउनुभएको रहेछ,’ ज्ञवालीले भन्नुभयो, ‘स्थानीयको मागअनुसार हरियाली पार्क निर्माण गर्न ड्रोइङ–जिडाइन तयारी अवस्थामा छ, पटक–पटक संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि आज हटाएका हौं ।’

महानगरपालिकाका नगर प्रहरी प्रमुख एसपी धनपति सापकोटाले पनि पटक–पटक आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर हटाउनु परेको जानकारी दिनुभयो । हाम्रो टीम नेपालको अभियानप्रति आफूहरूको विमती नभएको बताउँदै उहाँले अभियानका नाममा सरकारी जग्गा कब्जा गर्ने र हरियाली बढाउने अभियानमा अवरोध गर्दै अटेर गरेपछि हटाउनुपरेको स्पस्ट पार्नुभयो ।

हाम्रो टीम नेपालले गाँसविहीनहरुका लागि खाना बनाइरहेको स्थानमा अब हरियाली पार्क निर्माण हुने एसपी सापकोटाले बताउनुभयो । टहरा हटाउने सिलिसिलामा भडप भएपछि प्रहरीले हाम्रो टीम नेपालका २३ जनालाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार