किन एक्कासी कम्जोर र पातलो देखिए उत्तर कोरियाली शासक किम जोङ ?

-एजेन्सी उत्तर कोरियाली शासक किम जोङ उनको तौल लगातार कम भइरहेको समाचार सार्वजनिक भएको छ। किमको स्वास्थ्यलाई लिएर उत्तर कोरियाली नागरिकहरुले चिन्ता व्यक्त गरिरहेका छन्।

पछिल्लो केही महिनामा किमको वजन अचानक कमी आएको र दुब्लो हुँदै गएको भन्दै उत्तर कोरियालीले विभिन्न प्रश्नहरु उठाइरहेका छन्।

समाचार संस्था रोयटर्सका अनुसार गत शुक्रबार उत्तर कोरियाको सरकार नियन्त्रित टेलिभिजनमा प्रसारण भएको एक अन्तर्वार्ताका क्रममा किम दुब्लाउँदै गएको देखिएकोले आफूहरु चिन्तित भएको एक युवकले बताएका थिए। ‘किम निकै दुब्लो र कमजोर देखिएका थिए, उनको अवस्था देखेर हामी सबै निकै चिन्तित भएका छौं, हाम्रा आँखामा आँसु आएको छ,’ युवकले भनेको भिडियो अहिले भाइरल बनिरहेको छ।

किम कुनै एक कार्यक्रममा भाग लिन आएका थिए। त्यस समयमा उनको तौल कम देखेर मानिसहरु अचम्मित भए। तर पार्टीका तर्फबाट केही प्रतिक्रिया नआएकाले मानिसहरुले विभिन्न अड्कल गरिरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

केही समययता किमको स्वास्थ्यका बारेमा आउने गरेका समाचारहरुका कारण पनि उनको वजन कम भएको विषयमा चर्चामा रहेको छ।

सरकारी टेलिभिजनमानै किम दुब्लाउँदै गएकोबारे समाचार प्रसारण भएको थियो। सामान्यतया किमको स्वास्थ्यका बारेमा उत्तर कोरियाली सञ्चारमाध्यममा चर्चा हुने गरेको थिएन।

किमको खराब स्वास्थ्यलाई लिएर सबैभन्दा पहिलो गत वर्ष हजुरबुवा किम इल सङको जन्मजयन्ति कार्यक्रममा सहभागी नभएको भन्दै चर्चा भएको थियो। त्यतिबेला किम गम्भीर बिरामी परेको समाचारहरु अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा आएका थिए। तर त्यसको केही समयपछि किम सार्वजनिक कार्यक्रममा देखिएका थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार