के तपाइलाई राति राम्रो निद्रा लाग्दैन ? यी हुन् कारण !

-एजेन्सी

कतिपय व्यक्तिलाई राति सुत्न हम्मेहम्मे पर्छ । कोल्टे फेरेरै आधा रात बिताउने अनि बिहानपख अलिकति सुत्ने समस्या पनि पाइन्छ ।

यस्तो हुँदा भोलिपल्ट दिनभरि थकाइ र आलस्य लाग्छ । अनि काम गर्न पनि मन लाग्दैन ।

कहिलेकाहीँ निद्रा नआउनु सामान्य कुरा हो तर लगातार यस्तो स्थिति बन्यो भने उपचार गर्नुपर्छ ।

निद्रा नआउने समस्याको समाधानका लागि पहिला कारण थाहा पाउनुपर्छ । अनिद्राले शरीर अस्वस्थ रहेको स्पष्ट संकेत दिन्छ । यी संकेतहरूलाई हामीले ध्यान दिइरहेका हुँदैनौं ।

सुत्नुअघि व्यायाम गर्नुहुँदैन । राति व्यायाम गर्दा मुटुको चालमा नराम्रो असर पर्छ र निद्राको चक्र खलबलिन्छ । अनि स्ट्रेस हर्मोन रिलीज भएर अनिद्रा गराउँछ ।

तनाव र चिन्तामा घेरिँदा पनि निद्रा आउँदैन । चिन्ता र तनावले मन तथा शरीरलाई निद्राबाट ध्यान हटाइदिन्छन् । तनाव घटाउनका लागि दिनदिनै योग वा ध्यान गर्नुपर्छ । त्यसो गर्दा पल्टिनेबित्तिकै भुसुक्क निदाउन सकिन्छ ।

अनि कोठाको तापक्रम मिलेको छैन भने पनि निद्रा बिग्रन्छ । पूर्ण निद्राको लागि आरामदायी वातावरण आवश्यक हुन्छ । कोठा तातो छ भने शरीरको तापक्रम बढ्छ र सुत्न गाह्रो पार्छ । अनि एकदम चिसो कोठा छ भने पनि सुत्न सकिँदैन । त्यसैले गहिरो निद्राको लागि सुत्ने कोठाको तापक्रम सामान्य हुनुपर्छ ।

राति ढिलो खानेकुरा खाएर सुत्न खोज्दा पनि निद्रा बिग्रन्छ । सुत्नेबेलामा खाँदा शरीरले निद्राको हर्मोन उत्पादन क्षमता क्रमशः गुमाउँछ र निद्रा लाग्न पाउँदैन । यस्तो समस्या भएमा अवसाद वा डिप्रेसनमा गइन्छ र तौल पनि अनियन्त्रित हुन्छ ।

कोठा धेरै उज्यालो छ भने मस्तिष्कले आराम गर्न पाउँदैन र निद्रा खलबलिन्छ । उज्यालोले नै प्राकृतिक निद्रा र जागरणको चक्रलाई नियन्त्रित गर्ने हो । राति मोबाइल चलेर बस्दा पनि त्यसबाट निस्कने उज्यालोले मेलाटोनिनलाई दबाइदिन्छ र सुत्ने क्षमता घटाइदिन्छ ।

सुत्ने बेलामा कफी वा चकलेट जस्ता उत्तेजक पदार्थ पिउँदा खाँदा निद्रा बिग्रन्छ । बीचबीचमा निद्रा टुट्ने र नराम्रो सपना आउने समस्या पनि आइलाग्छ ।

त्यसैले राति राम्रो सुत्न चाहनुहुन्छ भने माथि बताइएका कुरामा विचार पुर्याउनुपर्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार