गणेश पाण्डेय, पोर्चुगल। ।
भारतीय डेल्टा भेरीयन्टको कोरोना संक्रमण पोर्चुगलको समुदायमा तिब्र गतिमा संक्रमण फैलिरहेको स्वास्थ्य महानिर्देशनालायले जनाएको छ।
संक्रमितहरुमध्ये २८.३ प्रतिशत नेपाली र १०.९ प्रतिशत मात्रै भारतीय रहेको स्वास्थ्य महानिर्देशनालायको तथ्यांकलाई उधृत गर्दै एसआइसी टेलिभिजनले उल्लेख गरेको छ।
भारतीय डेल्टा भेरीयन्टको कोरोना संक्रमण बिशेष गरि लिस्बनमा देखिएको छ।
स्वास्थ्य महानिर्देशनालायको पछिल्लो तथ्यांक अनुसार जुन महिनाको ९ तारिखसम्म डेल्टा भेरीयन्टका ९२ जना संक्रमितहरुको पुष्टि भएको छ।
४ जुन सम्ममा डेल्टा भेरीयन्टका ७४ जना मात्रै संक्रमित फेला परेका थिए। जुन ९ सम्म पाइपुग्दा यो संख्या बढेर ९२ पुग्यो।
समुदायमा डेल्टा भेरीयन्ट फैलिएसंगै स्वास्थ्य महानिर्देशनालयले चिन्ता व्यक्त गरेको छ। निर्देशनालयले यही रफ्तारमा समुदायमा संक्रमण फैलिए अर्को २ साताभित्र लिस्बन रेड क्षेत्रमा पर्नसक्ने चेतावनी दिएको छ।
त्यस्तै स्वास्थ्य महानिर्देशनालयका अनुसार अल्फा भेरीयन्टले पोर्चुगलमा ८८.४ प्रतिशत संक्रमण फैलिएको जनाएको छ।
उता ९ जुनसम्म अफ्रिकाबाट आएको बेटा भेरीयन्टका ११ जना संक्रमित फेला परेका छन्।
त्यस्तै ब्राजिलबाट फैलिएको गामा भेरीयन्टका १४२ जना संक्रमितको पुष्टी भएको छ।
पोर्चुगलले यी तिनै मुलुकहरुबाट आउने यात्रुहरुमा रोक लगाएको छ।
कोरोनाको डेल्टा भेरीयन्ट भारतपछि बेलायतमा देखा परेको थियो। अहिले पोर्चुगलको राजधानी शहर लिस्बन पनि डेल्टा भेरीयन्टको चपेटामा परेको छ।